ट्रेन्डीङ्ग

नवलपरासीमा मल संकट: गोदाममै यूरिया, सहकारीको ढिलाइले किसान मारमा

परासी।धान गोड्ने मुख्य समयमै रासायनिक मल अभाव भएपछि किसानहरू चिन्तित छन।सहकारीमार्फत वितरणको व्यवस्था भए पनि धेरै सहकारीहरूले समयमै मल नलैजाँदा गोदाममै ठूलो मात्रामा मल थन्किएको छ ।

साउन १९ गते कृषि सामग्री कम्पनी लिमिटेड, परासीको गोदाममा २ सय १२ मेट्रिक टन यूरिया मल आएको थियो। तर सोमबारसम्म ३४ सहकारीले मात्र मल लगेका छन्,बाँकी १ सय ३६ मेट्रिक टन अझै गोदाममै छ। जिल्लामा ७७ सहकारीमार्फत वितरण हुँदै आएको छ।

धान गोड्ने समय सकिनै लाग्दा किसानहरू अत्यावश्यक मलको पर्खाइमा छन।सीमावर्ती क्षेत्रमा रहेका केही किसानले भारतीय बजारबाट महँगोमा मल किनेर ल्याएका छन् भने अधिकांश किसान अभावमै छन।रामग्राम नगरपालिका–१८ का किसान शिवप्रसाद न्यौपाने भन्छन्, “धान राम्रो बनाउन १०० किलो मल चाहिन्छ, तर अहिले १५ किलो मात्र पाएको छु। यसरी उत्पादन घट्ने पक्का छ।” त्यसैगरि सुनवल नगरपालिका–१० का नेत्र लाल पाण्डेले भने, “धान गोड्ने समय बित्दैछ। मल नपाउँदा वर्षभरको मेहनत खेर जाने डर छ।” यता रामग्राम–४ का इन्द्र गुप्ता भन्छन्, “भारतबाट महँगोमा मल ल्याउनुपर्‍यो गुप्ताले भने तर सबै किसानसँग त्यस्तो पैसा छैन।”

परासी आदर्श सहकारी लिमिटेडका व्यवस्थापक संजयकुमार सिंहले कोटा अनुसारको मल उपलब्ध छैन र किसानको माग धेरै भए पनि सीमित स्टकका कारण किसानलाई १०–१५ किलो मात्र वितरण गर्न सकिएको छ। स्थानीय सरकारको सिफारिसमा थप कोटा र मलको लागि पहल गरिएको छ उनले भने मल वितरणमा प्रहरी प्रशासनको सहयोग लिनुपर्ने समस्या आएको दुखेसो पोखेका थिए ।

यता मल वितरणको जीम्मा पाएको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय भैरहवाका निमित्त प्रबन्ध निर्देशक सुमन पन्थले पालिकाको सिफारिसअनुसार वितरण भइरहेको बताए। “देशभरै मलको माग बढी र आपूर्ति कम भएकाले जिल्ला कोटा पूरा गर्न नसकिएको हो। नवलपरासीमा थप मल पठाउने प्रक्रिया अघि बढेको छ,” उनले भनिन।

रामग्राम नगरप्रमुख धनपत यादवका अनुसार संघीय सरकारले खरिद गर्ने, प्रदेश सरकारले कोटा निर्धारण गर्ने र स्थानीय सरकारको समन्वयमा सहकारीमार्फत वितरण गर्ने प्रणालीमै समस्या छ। “स्थानीय सरकारलाई मल खरिदको अधिकार दिनुपर्छ,” यादवले भने। उनले केही दिनमै थप एक सय मेट्रिक टन मल आउने जानकारी पनि दिए।

जिल्लामा रासायनिक मलको अभाव भएपछि कोटावृद्धि गर्न माग गर्दे पश्चिम नवलपरासीका स्थानीय तहका जनप्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर रासायनिक मलको अभावले कृषि उत्पादनमा गम्भिर असर गर्ने भन्दै तत्कालै मलको कोटा (भागबन्डा) वृद्धि गर्न माग गरेका थिए ।

मंगलबारसम्मको तथ्यांक अनुसार रामग्राममा ३४.९ टन, सुनवलमा ९.३५ टन, बर्दघाटमा ८.८ टन, सरावलमा १२.१५ टन, पाल्हीनन्दनमा १५.४ टन, प्रतापपुरमा २९.६ टन र सुस्तामा २४.७ टन मल गोदाममै बाँकी छ।

पश्चिम नवलपरासीमा २० हजार ४८० हेक्टरमा धान रोपाइँ भएको छ।जिल्लामा १८ हजार मेट्रिक टन युरिया र १२ हजार मेट्रिक टन डिएपी आवश्यक भए पनि करिब ८ हजार मेट्रिक टन मात्र प्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड, परासीले जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal