
बर्दघाट। लगातारको वर्षाका कारण दाउन्ने सडक खण्ड अवरुद्द भएको छ ।बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकको सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेकोहो।
सडकको करिब ७ मिटर भाग भासिएको छ भने हालै गरिएको ढलान समेत उप्किएकाले सडक अबरूद भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानिया जानकारी दिए । सडक शुक्रबार राति करिब ११ बजेदेखि बन्द भएको हो।
शनिबार बिहानसम्म पनि सडक सञ्चालनमा आउन सकेको छैन। बिहानैदेखि हल्का वर्षा भइरहेकोले मर्मत कार्यमा कठिनाइ भएको बानियाले जानकारी दिए। पानी रोकिएपछि सडक विभाग र निर्माण कम्पनीसँग समन्वय गरी भासिएको सडक खुलाउने प्रयास भइरहेको उनले बताए।
सडक अवरुद्ध हुँदा पूर्व-पश्चिम आवतजावत गर्ने सवारी साधनहरू रोकिएका छन। पश्चिमबाट पूर्वतर्फ गएका सवारीहरू बर्दघाटमा र पूर्वबाट पश्चिम गएका सवारीहरू दुम्किबासको ज्यामिरेमा रोकिएका छन।