ट्रेन्डीङ्ग

देवकोटा माविमा फाल्गुन ११ गते अभिभावक भेला हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ मा स्थित  महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला हुने भएको छ।देवकोटाको विद्यालय व्यवस्थापन समिति गठन विवादमा परेको मुद्दालाई लिएर ५ गते उच्च अदालतले गरेको अन्तरिम आदेशलाई निरंतरता दिदै ११ गते आइतबार भेला हुने भएको हो।

अदालतले फागुन ५ गते जारी आदेशमा:“माघ २८ गते बोलाइएको अभिभावक भेलालाई असर पर्ने गरी निवेदकलाई सरुवा वा काजका लागि रमाना दिने,प्रधानाध्यापकको हैसियतले गरिँदै आएको काममा बाधा पुर्‍याउने, हाजिर गर्न नदिने जस्ता कार्य नगर्नु नगराउनु भनि विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिन्छ।”भनेको छ।

विद्यालय व्यवस्थापन समितिको म्याद माघ २६ गते सकिएको थियो।म्याद समाप्त हुनु अघि नै नगरपालिकाको पत्र बमोजिम विद्यालयले माघ ४ गते व्यवस्थापन समिति गठनका लागि भेला आह्वान गरेको थियो।तर,नगरपालिकाले एकाएक उक्त भेला स्थगित गर्दै ‘हिरक जयन्ती’को बहानामा माघ ९ गते पत्र पठाएर समितिको म्याद २०८१ चैत मसान्तसम्म थप गर्ने निर्णय गरेपछि विवादित भएको थियो।

विद्यालयले व्यवस्थापन समिति गठनका लागि भेला बोलाउने, नगरपालिकाले पुरानो समितिको म्याद थप गर्ने, भेला स्थगित गर्ने, विद्यालय व्यवस्थापन समितिमा सदस्य तोक्ने र प्रधानाध्यापक सरुवा गर्ने जस्ता निर्णयहरू अदालतसम्म पुगेका छन।अदालतले विभिन्न मितिहरूमा नगरपालिकाका चारवटा निर्णयमाथि रोक लगाइसकेको छ।

नगरपालिकाले गरेको समितिको म्याद थपविरुद्ध उच्च अदालत तुलसीपुर,बुटवलले नगरपालिकालाई म्याद थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

यस आदेशपछि विद्यालयले शिक्षक अभिभावक संघको माघ २८ गतेको बैठकको निर्णयअनुसार फागुन ११ गते समिति गठनका लागि भेला बोलायो। तर, नगरपालिकाको नगर शिक्षा समितिले माघ २९ गतेको बैठकबाट रामजी प्रसाद चापागाईं, गोविन्द प्रसाद ढकाल,कल्पना न्यौपाने र अनरौती तेलीलाई व्यवस्थापन समितिको सदस्य पदमा जिम्मेवारी दिएको थियो।

नगरपालिकाले प्रधानाध्यापक खेमलाल शर्मालाई सरुवा गरेर भए पनि व्यवस्थापन समिति गठनको प्रयास गरेपछि अदालतले पुनःहस्तक्षेप गरेको छ।प्रधानाध्यापक शर्माले नगरपालिकालाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणयुक्त परमादेश मुद्दामा अदालतले फागुन ११ गतेको भेलालाई कार्यान्वयन गर्न सक्ने गरी र प्रधानाध्यापकलाई सरुवा नगर्न आदेश दिएको छ।

नगरपालिकाले कार्यसम्पादनमा कमजोरी देखाउँदै प्रधानाध्यापक शर्मालाई रमवापुर स्रोत केन्द्रमा कामकाजमा लगाउने निर्णय गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?