काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तीन वटा उद्योगको बिजुली काटेको छ । प्राधिकरणले मंगलबार रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टको बिजुली काटोको हो ।
प्राधिकरणले असार ९ मा १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्न भन्दै ६१ उद्योगलाई पत्र पठाएको थियो । उक्त पत्रको म्याद मंगलबार सकिएसँगै प्राधिकरणले बिजुली काट्न थालेको हो ।
उद्योगीहरूले तिर्नुपर्ने कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । विद्युत्को बिल तिर्न ६० दिन कटिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न प्राधिकरणले उद्योगीलाई भनेको छ ।
थप दस्तुरसहित अर्घाखाँची सिमेन्टको ४४ करोड ८६ लाख, रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख र घोराही सिमेन्टको ५० करोड ८५ लाख रुपैयाँ बक्यौता छ । उद्योगी पशुपति मुरारकाले पनि यी तीन उद्योगको बिजुली काटिएको पुष्टि गरेका छन।