
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणकाे उपाधि ललितपुर सिटी एफसीले जितेको छ।
दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुर सिटी एफसीले उपाधि चुमेको हो।
खेलको ३७ औं मिनेटमा आफिज ओलावाले पहिलो गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए। खेलको ४५ प्लस ११ मिनेटमा ललितपुरका लागी इमोह इजेकेलले बराबरी गोल फर्काए।
खेलको पहिलो हाफसम्म दुवै एक-एक गोलको बराबरीमा खेलिरहेका थिए। खेलको दोस्रो हाफको ५० औं मिनेटमा ललितपुरका लागि दिनेश हेम्जनले गोल गर्दै २-१ को अग्रता दिलाए।
त्यस्तै खेलको ५८ औं मिनेटमा ललितपुरका लागि मोहले दोस्रो गोल गरेपछि ललितपुरले ३-१ को अग्रता बनायाे। खेलकाे अन्तिम समयमा धनगढीका लागि हिजाजीले गोल गर्दै ३-२ सम्म पुर्याए।