ट्रेन्डीङ्ग

सुनवल महोत्सवको तयारी पुरा ,मुख्य गेट महल पोखरीको मन्दिर,कृष्ण मन्दिर र बर्दगोरियाको प्रतिमा

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा भोलि मंसिर २१ देखि पौष ४ गते सम्म हुन लागेको तेस्रो सुनवल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

मेलामा सुनवलको पहिचान झल्किने गरि मुख्य गेट महल पोखरीको मन्दिर र दायावाया कृष्ण मन्दिर र बर्दगोरियाको प्रतिमा बनाइनुका साथै कृषि प्रदर्शनी ,विज्ञान प्रदर्शनी र टिकटक जोन ,होटल तथा व्यापारका स्टल लगायतको तयारी पूरा भएको छ भने मञ्च र बाल मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला आयोजक मुल समिति संयोजक रमेश कर्माचार्यले बताए ।

महोत्सव मूल आयोजक समिति अन्तर्गत बनाइएका विभिन्न विभागीय टोलीहरुले आ-आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको र उद्घाटनको तयारी पुरा भएको अध्यक्ष कर्मचार्यले जानकारी दिए।

आयोजकले महोत्सवको उद्घाटन बिहिबार दिउसो १ बजे गर्नेगरी कार्यक्रम तय गरेको छ । १४ दिनसम्म संचालन हुने महोत्सवको उद्घाटन गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आउने भएका छन ।

महोत्सव उद्घाटन अघि सुनवल सि गेटबाट विहान ११ बजे शोभायात्रा शुरु गरिने संघका वरिष्ठ उपाध्यक्ष एवं तेस्रो सुनवल महोत्सव-२०८० का प्रवक्ता लेखनाथ खरेलले बताए ।

शोभायात्रामा विभिन्न जातजातिका परम्परागत साँस्कृतिक झाँकीहरु सहित पन्चेबाजा, खैजडी भजन , ढ्यांग्रो नाच तथा स्थानीय स्काउटका साथै विभिन्न विद्यालयको सहभागिता समावेश गर्ने गरी तयारी गरिएको खरेल बताए ।

महोत्सवमा अवलोकन कर्ताहरुलाई मनोरन्जन प्रदान गर्न राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ जसका लागि कलाकारहरु तयारी पुरा भैसकेको सांस्कृतिक संयोजक रमेश पराजुलीले जानकारी दिए ।

महोत्सवमा लघु उद्दमी , स्थानीय उत्पादन , कृषि, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत गरी १ सय ५० वटा स्टलहरु रहनेछन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?