
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, युएई र हङकङबीच हुने त्रिकोणात्मक टि २० आई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपालले त्रिकोणात्मक टि २० आई सिरिजमा पहिलो खेल युएईसँग खेल्ने भएको छ ।
नेपालले आफ्नो पहिलो खेल कार्तिक १ (अक्टोबर १८) मा युएईसँग मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । नेपालले कार्तिक २ (अक्टोबर १९) मा हङकङसँग खेल्नेछ । नेपालले कार्तिक ४ (अक्टोबर २१) मा हङकङसँग खेल्नेछ ।
कार्तिक ६(अक्टोबर २३) मा नेपालले युएईसँग खेल्नेछ । राउन्ड रोबिनका सबै खेल मुलपानी मैदानमा हुनेछन् । शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल भने कार्तिक १० (अक्टोबर २७) मा टियु क्रिकेट मैदानमा हुनेछ । नेपालले आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोट अघि उक्त सिरिज आयोजना गरेको हो ।
नेपाली क्रिकेट टोली पाँच दिन अघि तयारीको लागि राजस्थान रोयल्सको एकेडेमीमा गएको थियो । त्यहाँ १० दिनको प्रशिक्षणपछि नेपाल स्वदेश फर्किनेछ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।
फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपाल २०१४ पछि टि २० विश्वकप खेलेको छैन् ।