
सुनवल । पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा माविले अटो वर्कशप तथा सर्भिस सेन्टर खोलेको छ । हरितालिका तिज तथा विश्वकर्मा पुजाकाे अवसर पारेर महाकवी देवकाेटा नमुना माध्यमिक विद्यालय सुनवलले ‘अटाे वर्कशप तथा सर्भिसिङ्ग सेन्टर’ काे आईतबार शुभारम्भ गरेकाे विद्यालयले जनाएको छ।
सुनवल-१ साेमनाथमा रहेकाे प्राविधिक शिक्षालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुले पढ्दै, सीप सिक्दै र कमाउदै गरून भन्ने उद्देश्यले शिक्षालय परिशरमै ग्यारेज खाेलिएकाे विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले बताए ।
ग्यारेजबाट आम्दानी भएकाे आधा रकम त्यहा काम गर्ने विद्यार्थीले र केही प्रतिशत रकम ग्यारेज व्यवस्थापन तथा शिक्षालयका लागि खर्च गरिने विद्यालयले जनाएको छ ।
सैध्दान्तिक ज्ञानकाे अलवा परिश्रम पनि जरुरी छ भन्ने भावना जगाउनका लागि र विद्यार्थीलाई पढाईसंगै राेजगारीकाे व्यवस्था पनि हुने भएकाले “पढ्दै-कमाउदै” कार्यक्रम अन्तर्गत वर्कशपकाे शुभारम्भ गरिएकाे विद्यालयका प्रअ खेमलाल जोशी शर्माले बताए ।
बाईक/ कार मर्मत तथा पार्टपुर्जाका लागि सुनवलबाट बाहिर जानैनपर्ने गरि केही महिनामै लेथ मेसिन समेत संचालनमा ल्याउने बताईएकाे छ। निकट भविष्यमै “पढ्दै-कमाउंदै” का अन्य विषयका कार्यक्रमहरु समेत सार्वजनिक गर्ने विद्यालयकाे तयारी छ ।