ट्रेन्डीङ्ग

वन र प्रहरीले एक अर्कोलाई देखाउदै अनाधिकृत रुख काट्ने जनप्रतिनिधि पक्राउ परेनन्

परासी।प्रतापपुर गाउँपालिका ९ स्थित गण्डक नहर क्षेत्रमा रहेका रुख अनाधिकृत रुपमा कटान गर्ने जनप्रतिनिधि विरुद्ध पक्राउ पुर्जी जारी भए पनि पक्राउ परेका छैनन ।

जिल्ला वनले प्रहरीले पक्राउ गर्ने र प्रहरीले वनले पक्राउ गर्ने भन्दै गर्दा पक्राउ पुर्जी जारी भएको १७ दिन पुरा हुदा पनि अहिले सम्म पक्राउ परेका छैनन् । एकता सार्वजनिक जग्गा ब्यबस्थापन समितिले गण्डक नहर क्षेत्रमा रहेका रुखहरु अनाधिकृत रुपमा कटान गरेको मुद्दामा नवलपरासी जिल्ला अदालत परासीले ३ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी हुनेमा प्रतापपुर गाउँपालिकाका कार्यपालिका सदस्य खेम नारायण चौधरी, वडा नम्बर ९ का वडा सदस्य विरेन्द्र कुमार चौधरी र सोही वडाका दश बहादुर चौधरी रहेका छन् । उनीहरुलाई जिल्ला अदालतले भदौ १३ गते पक्राउ पुर्जी जारी गरेको थियो।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि पक्राउ गर्नका लागि सहयोग गरिदिन भन्दै भदौ १५ गते वन कार्यालयले प्रहरीलाई पत्राचार गरेको थियो । वनसंग जोडिएको विषय भएकोले पक्राउ गर्नका लागि वनका कर्मचारीहरुको सकृयता नभएको प्रहरीको भनाई छ । पक्राउ गर्ने कार्यमा सहयोग गरिदिन पत्राचार गर्दा पनि प्रहरीले चासो नदेखाएको जिल्ला वन कार्यालयले बताएको छ ।

पक्राउ पुर्जी जारी हुनेहरु जनप्रतिनिधि भएकै कारण विभिन्न बाहानाबाजी बनाएर पक्राउ नपरेका स्थानीयहरु गुनासो रहेको छ । “ पक्राउ पुर्जी जारी भएकाहरुलाई वनले प्रहरीलाई देखाउने र प्रहरीले वनलाई देखाउने गर्दै अनेकौं बहाना गरी पक्राउ गरीएको छैन ।” प्रतापपुर ०९ निवासी एक स्थानियले भने ।

कटान छपान स्विकृति नलिई रुख कटान भएपछि जिल्ला वन कार्यालयले कारवाहीको प्रकृया अगाडि बढाई जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतले जिल्ला वनलाई पक्राउ आदेश जारी गरेसंगै डिभिजन वन कार्यालयले सक्रियता देखाउनु पर्नेमा कार्यालयले प्रहरीलाई पत्राचार गरी सहयोग गरिदिन आग्रह गर्नु बाहेक केही पनि गरेको छैन ।

डिभिजन वन कार्यालयका नवलपरासीकाका निमित्त कार्यालय प्रमुख मेघनाथ काफ्लेले पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिएको बताए । काफ्ले भने “पक्राउ पुर्जी जारी भएको छ । अहिले उनीहरुलाई वनले खोजी रहेको छ ।”

दैनिक विभिन्न कार्यक्रमहरुमा भेटिएका जनप्रतिनिधिहरुलाई जिल्ला वनले खोजीएको छ । भन्नु आफैमा लाजमर्दो कुरा रहेको स्थानीय प्रतापपुर ०९ का स्थानीय काशी हरिजनले बताए ।

“पक्राउ पुर्जी जारी भएका व्यक्ति जनप्रतिनिधि भएकै कारण वनले पक्राउ गर्ने नै खोजेको छैन । जनतालाई अनेक बाहाना गराइ जनता झुक्याउने काम भएको छ ।” हरिजनले भने पक्राउ पुर्जी जारी गराएको वनले पक्राउका लागी कुनै चासो देखाएको छैन ।

पक्राउ कार्यमा खट्नु पर्ने वन कार्यालयका प्रमुख नै प्रहरीतर्फ देखाएर तर्किएका छन । वन कार्यालयले प्रहरीले पक्राउ गर्ने बताईरहँदा वनले पक्राउ गर्ने सक्रियता देखाए आफुहरु सहयोग गर्न तयार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक काजी कुमार आचार्यले बताए । उनले भने “ वनको बिषय हो । पक्राउ पुर्जी पनि अदालतले वनलाई नै दिएको हो । वनले हामीलाई सहयोग गर्ने भन्दै पत्र पठायो तर त्यसपछि कुनै सक्रियता देखाएको छैन । वन कार्यालयका अगाडि लागे प्रहरी सहयोग गर्न तयार छ।”

वनले अनुसन्धान अधिकृत तोकेको बताउदै काफ्लेले वनको मुद्दामा उन्मुक्ति पाउने चान्स नभएको बताए । पक्राउमा किन चासो नदेखाएको भन्ने प्रश्नमा उहाले यसको सम्पुर्ण अधिकार अनुसान्धान अधिकृतलाई रहेको बताए । उनले भने -“मान्छे थुनामा गएको भए २५ दिन को हद म्याद हुने थियो । तर पक्राउ नभएको केसमा हद म्याद हुदैन ।”

पक्राउ पुर्जी लिएर वनले पक्राउ गर्नु को साटो अनेकौं बहाना बनाएको देखिन्छ । गण्डक नहर क्षेत्रमा लगाईएका ४९ वटा रुख काटिएको विषय विवादित भए संगै अदालत बाट पक्राउ पुर्जी जारी गर्ने सम्म पुगेको छ । काटिएका रुखहरु वडा नम्बर ९ को कार्यालयको जिम्मामा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?