ट्रेन्डीङ्ग

अन्नपूर्ण माविमा तीजगीत प्रतियोगिता


बुटवल । अन्नपूर्ण मावि मोडल कलेज र बुटवल उपमहानगरपालिका वडा नं। ६ को संयुक्त आयोजनामा तीज गीत तथा नृत्य प्रतियोगिता शुक्रबार विद्यालय प्राङगणमा सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष धर्मराज भट्टराई र बुटवल ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद जमुना ढकालको प्रमुख आतिथ्यता र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको विशिष्ट आतिथ्यता रहेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले संस्कृतिलाई संरक्षण गर्नका लागि विद्यालयले गरेको प्रतियोगिताले टोलसमिति र विद्यालयबीच आपसी एकता, सद्भाव र सुमधुर सम्बन्ध स्थापित गर्न टेवा पुग्ने बताईन् । नगर प्रमुख पाण्डेले बोल्दै सरसफाई, हरियाली र उज्यालोलाई नगरले प्राथमिकता राखेको बताउँदै सके ३ विरुवा या ३ गमला रोप्न आग्रह गरें ।

प्रतियोगितामा विद्यालयका १२ समूह र टोल समितिका ८ गरी २० वटा समूहको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताको निर्णायक मण्डलको संयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका सचिव योगराज पोख्रेलले रहेका थिए भने सदस्य विजय कुमार झाले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए । उक्त प्रतियोगितामा टोलसमिति तर्फ चन्द्रनगर टोल विकास संस्था प्रथम, दुर्गानगर टोल विकास संस्था दोस्रो, पञ्चायन टोल विकास संस्था तृतीय र कालिका टोल विकास संस्थाले शान्त्वना स्थान प्राप्त गरेका छन् ।

त्यस्तैगरी विद्यालयतर्फ कक्षा ९ को समूह प्रथम, ८ कक्षाको समूह दोस्रो, १० कक्षाको समूह तृतीय र कक्षा ३ को समूह शान्त्वना स्थान प्राप्त गरेका छन् । विजेता हुने प्रथमलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार र शान्त्वनालाई ३ हजार पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयले अन्नपूर्ण बाल क्लवको लोगो सार्वजनिक गरेको थियो ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका सदस्य लक्ष्मी भट्टराई,रिर्पोटर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्री, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए । नेपाली कांग्रेस बुटवलका कार्यबाहक सभापति ज्योति भण्डारी, कांग्रेस बुटवल ६ का सभापति ताराप्रसाद ज्ञवाली लगायतको सहभागिता रहेको थियो । अन्नपूर्ण माविका कोर्डिनेटर विष्णु पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रवन्ध निर्देशक मित्रहरि आचार्यले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?