बर्दघाट । बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ ।
मंगलवार संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाको नेतृत्वमा पुगेको क्रान्तिकारीको टोलीले शाखाका प्रमुख उपसचिव लोकराज पन्थीलाई बाहिर निस्कन आग्रह गर्दै ढोकामा संगठनका माग र चेतावनी पत्र टास्दै तालाबन्दी गरेको हो ।
शैक्षिक सत्रको शुरुवातमा राखेको बिभिन्न जायज मागलाई बेवास्ता गर्दै आएकोले तालाबन्दीमा उत्रिनु परेको सापकोटाले जानकारी दिए। शुक्रवार हामीले ३ दिनको अल्टिमेटम दिएर ध्यानाकर्षण गराएर हाम्रा माग पुरा गर्न भनेका थियौं तर हाम्रा जायज माग पुरा गर्नतर्फ ध्यान दिएको पाएनौ । अनि तालाबन्दीमा उत्रन बाध्य भयौं ।
संस्थागत बिद्यालयहरुले मनमौजी रुपमा शुल्क बृद्धि गरेको र प्रमाणपत्रका नाममा जनही ५ हजार भन्दा माथि शुल्क लिने गर्दा समेत नगरको शिक्षा शाखा मुकदर्शक भएर बसेकोले तालाबन्दी गरिएको उनले बताए । महंगो अतिरिक्त शुल्क लिएको भन्दै अनुगमन गरेर ३ दिनभित्र दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै संगठनले शुक्रवार ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।
नगरको शैक्षिक कार्यक्रमलाई एकरुपतामा ल्याउन शाखाले पहल नगरेको बताउदै सामुदायिक बिद्यालयहरुमा बिभिन्न नाममा शुल्क लिने गरिएको सापकोटाले बताए ।
संस्थागत बिद्यालयले ट्रान्सक्रिप्ट र सर्टिफिकेटको नाममा प्रति बिद्यार्थी पाँच हजार रुपैया बढी असुलेको बताउदै त्यो कार्य नरोकिए थप संर्घषका कार्यक्रम समेत सार्वजनिक गर्ने सापकोटाले उद्घोष गरे ।