ट्रेन्डीङ्ग

गैंडा मारेको आरोपमा पश्चिम नवलपरासी धरमपुरका कृष्णबहादुर महतो सहित ३ जना पक्राउ

चितवन।पूर्वी नवलपरासीमा गत माघमा गैंडाको माउ र बच्चा मारेको अभियोगमा ३ जना पक्राउ परेका छन।गत १२ जेठमा नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो(सीआईबी)को टोलीले पक्राउ गरेको उनीहरुलाई आज चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ।दुई गैंडा मारेको घटनामा प्रत्यक्ष संलग्नको आरोपमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका-१८ धरमपुर बस्ने कृष्णबहादुर महतो पक्राउ परेका हुन।त्यस्तै खाग किनबेचको आरोपमा सिखाराम थारु र होमबहादुर बिक पक्राउ परेका हुन।यो घटनामा अझै दुई जना फरार रहेको प्रहरीको भनाइ छ।

पक्राउ परेका तीनै जनालाई चितवन राष्ट्रिय निकुञ्जले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।उनीहरुबाट बरामद गरेको खाग र मारिएको गैंडाको अवस्था आदिको प्राविधिक जाँच पछि खाग सोही गैंडाको भएको पुष्टि भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए।

 

६ माघ २०७९ मा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-२ सीतापुर नजिकैको क्रान्तिघाटमा गैंडाका माउ बच्चा मृत अवस्थामा भेटिएका थिए।१४ बर्षको पोथी गैंडालाई करेन्ट लगाएर मारेर खाग काटिएको थियो।खाग काटिएको ठाउँबाट बगिरहेको रगत पानीमा मिसिएको दृश्य घटनास्थलमा देखिथ्यो माउ मारेको केही मिटर पर खाग समेत नपलाएको चार बर्षको केटो गैंडा मृत अवस्थामा भेटिएको थियो।घटनास्थलको झण्डै ३५० मिटर नजिकै सैनिकहरुको भूताहापोष्ट छ।निकुञ्जको कोर क्षेत्रमा अर्को शहरी पोष्ट छ ।तस्करहरुले सैनिकको आँगन अगाडि खुला ठाउँमा हृदय विदारक ढंगले गैडा मारेका थिए।

 

निकुञ्जले यो घटनापछि सहायक संरक्षण अधिकृत शान्तबहादुर मगरलाई अनुसन्धान अधिकृत तोकेर घटनाको अनुसन्धान थालेको थियो।चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना,डिभिजन वन कार्यालय पश्चिम नवलपरासी,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई १२ जेठमा पक्राउ गरेको थियो।सीआईबीका प्रहरी कर्मचारीले गैंडाको खाग किन्ने ग्राहक बन्दै महंगो शुल्क दिने लोभ देखाएर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो।

 

पक्राउ परेकाहरूको साथबाट लु ४५ प ५११७ नम्बरको मोटरसाइकल,४ वटा मोवाइल,गैंडाको खाग,बाँसको किल्ला र बेण्डिङ तार बरामद गरिएको छ।घटनास्थल मध्यवर्ती क्षेत्र र पूर्वी नवलपरासी भएकाले गत जेठ ३० गते जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनमा चितवन राष्ट्रिय निकुञ्जलाई पक्राउ परेका अभियुक्तहरु सहित वरामद गरिएका सम्पूर्ण सामाग्रीहरू बुझाइएको थियो।

 

निकुञ्जले ४१ दिनदेखि पक्राउ परेकाहरुसँग सोधपुछ र अनुसन्धान गरिरहेको छ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले पक्राउ परेका तीनै जनाविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ताका लागि वुधबारनै लैजाने जानकारी दिए।थप कसैको संलग्नता अनुसन्धानको क्रममा खुल्न आएमा पुनःअनुसन्धान गरी पूरक अभियोग पत्र दायर गर्ने मागदाबीसहित मुद्दा दायर गर्न लागेको उनले बताए।राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण ऐन,२०२९ को दफा ५ को उपदफा १ को खण्ड(क)ले निषेध गरेको कसुर अपराध गरेकोले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम ५ देखि १० लाखसम्म जरिवाना,५ देखि १५ बर्षसम्म कैद सजाय वा दुबै सजाय हुने व्यवस्था छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal