ट्रेन्डीङ्ग

परासीमा पत्रकार महिलाका लागि क्षमता अभिवृद्धि तालिम सुरु

 सुनवल।नवलपरासीका पत्रकार महिलाहरूका लागि क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ । पत्रकार महासंघ नवलपरासीको आयोजना तथा सुनवल नगरपालिकाको आर्थिक सहयोगमा लोटस रिसोर्ट सुनवलमा आज मंगलवार देखी चार दिने पत्रकारीता तालिम सुरु भएको हो । जिल्लामा महिला पत्रकारको संख्या न्यून रहेको अवस्थामा महिला पत्रकारहरुलाई व्यवसायीक वनाउने उदेश्यले तालिम संचालन गरिएको पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले बताए ।

 


सो अवसरमा प्रमुख अतिथि सुनवल नगर प्रमुख विमला अर्यालले पत्रकार महिलाको क्षमता अभिवृद्धिमा जोड दिइन । समाज रूपान्तरणका लागि धेरै कुरालाई सहकार्य गर्दै जिम्मेवारीका साथ अगाडी बढ्नु पर्ने बताउदै नगरप्रमुख अर्यालले वास्तविक कामको समाचार सम्प्रेषण गर्ने र नराम्रा कामलाई सुझाव दिनु पर्ने बताइन।

 


यसअघि कार्यसम्पादन मुल्यांकनमा ४२ अंक आएकोमा अहिले ७८ अंक ल्याउन सफल भएको पनि उहाले बताउनुभयो । ५ हजार लिटर सम्मको खानेपानी निशुल्क, प्रत्येक वडा कार्यालयमा निशुल्क फोटोकपी, निवेदन लेखन सुरु, १८० जनाको मोतियाबिन्दुको अप्रेशन गरेको, सेफ हाउस निर्माण, महिलाबाट उत्पादन हुने वस्तुको संकलन तथा बजारीकरणका लागि सीप तथा व्यवस्थापन केन्द्र निर्माण भइरहेको, लुम्विनी माविमा १३८ जना महिला भर्ना भई अध्ययन गरिरहेको जस्ता नगरका विकास गतिविधि लगायतका वारेमा जानकारी गराइन।


कार्यक्रममा उपप्रमुख सुर्य प्रसाद दुबेले आफ्नो पेसा र कर्म प्रति मर्यादित बनाउने भन्ने कुरा आफूमा भर पर्ने भन्दै क्षणिक लोकप्रियताका लागि गरिएका कामले पेसालाई मर्यादित नबनाउने बताए। पेशालाई मर्यादित बनाउन आफ्नो हरेक क्रियाकलाप जिम्मेवार हुनुपर्ने उहाको भनाई छ । नगरप्रमुख र उपप्रमुख दुवैको सहकार्य राम्रो रहेको बताउदै झुटा अफवाह भएको नगर उपप्रमुख दुवेले बताए ।

 


कार्यक्रममा पूर्व केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी,पूर्व सभापति केशव पराजुली, प्रेस चौतारी नेपाल नवलपरासीका अध्यक्ष मेघ राज गौतम, रेशम प्रसाद शर्मा, संचारिका नवलपरासी संयोजक विष्णु खनाल, इन्दिरा विश्वकर्मा लगायतले यस तालिमबाट केही उपलब्धि आउनुपर्ने भन्दै महिला पत्रकार अझ क्रियाशील रहनु पर्ने बताएन।दलीय भागमा महासंघको सदस्यता दिने प्रवृतिले गर्दा महिलाले सदस्यता पाउन मुश्किल भएको भन्दै यो समस्या समाधान हुनुपर्ने बताए ।


आजबाट सुरु भएको तालिम आगामी जेठ १२ गतेसम्म सञ्चालन हुने छ । तालिमको आज पहिलो दिन कान्तिपुर मिडिया गु्रपकी लुम्विनी व्युरो प्रमुख सन्जु पौडेलले समाचार लेखनका आधारभुत विषयका वारेमा सहजीकरण  गरेकी थिइन। तालिममा नवलपरासीका क्रियाशिल महिला पत्रकारहरुको सहभागिता रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?