
सुस्ता।चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पक्लीहवास्थित स्वास्थ्य केन्द्रमा विशेषज्ञसुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। सोमबार प्रतिनिधिसभा सदस्य विनोद चौधरीले सुस्ता गाउँपालिकाको वडा नं. ५ रहेको स्वास्थ्य चौकीको भवन सहित बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको हो।
नवलपरासी क्षेत्र नं.१ बाट निर्वाचित सांसद चौधरीले सेन्टर सञ्चालनमा आएपछि ग्रामिण क्षेत्रका महिलाहरु लाभान्वित विश्वास व्यक्त गर्नुभयो।उहाँले जिल्लाको दक्षिण भेगका दिदीबहिनीहरुले गाउँमै विशेषज्ञसुविधासहितको प्रसुति सेवा पाउने बताउनुभयो।साथै उहाँले स्वास्थ्य केन्द्रको स्तरोन्नतिपछि स्थानीयले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो।‘चुनावका बेला गरिएको प्रतिवद्धता कार्यान्वयनमा हामी प्रतिवद्ध छौं,’उहाँले भन्नुभयो,निर्वाचनका बेला हामीले जे गर्छाैं भनेका छौं, त्यसका लागि व्यवस्थित विकासको खाका बनाएर अगाडि बढिसकेका छौं।’
प्रदेश सभा सांसद देवकरणप्रसाद कलवारले चुनावपछि निर्वाचन क्षेत्रमा विकासका कामले तीब्रता पाएको बताउनुभयो।उहाँले सांसद चौधरीको सक्रियतामा बर्थिङ सेन्टर सञ्चालनमा आएको बताउनुभयो।‘माननीय विनोदजीले चुनाव जितेपछि हाम्रो निर्वाचन क्षेत्रमा विकासका कामहरु अगाडि बढेका छन्,’उहाँले भन्नुभयो,‘स्वास्थ्य सेवाका क्षेत्रमा अस्पतालको स्तरोन्नतिदेखि बर्थिङ सेन्टर सञ्चालन त्यसैका उदाहरण हुन्।’सांसद चौधरीले निर्वाचनमा प्रत्येक नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो।
सम्झौता अनुसार फाउण्डेसनले स्वास्थ्य केन्द्रका लागि एक जना एमबीबीएस चिकित्सक,एक जना अनमीको खर्च र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएको हो।त्यस्तै गाउँपालिकाले प्रत्येक वडामा नियमित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनुभयो।
फाउण्डेसनले नवलपरासीमा लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सहयोग पु¥याउदै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने चौधरी फाउण्डेसनका सचिव सारिका चौधरीले बताउनुभयो।“बर्थिङ सेन्टर सेवा सञ्चालनमा आएपछि यहाँका महिला र बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने हाम्रो विश्वास छ,”उहाँले भन्नुभयो।फाउण्डेसनको सहयोगमा बर्दघाटमा रहेको चिसापानी अस्पतालको स्तरोन्नतिको काम पनि अगाडि बढिसकेको छ।