ट्रेन्डीङ्ग

चौधरी फाउण्डेसनको सहयोगमा सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा आउने

परासी।चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा सुविधा सहितको बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ।

बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाकाबीच पकलीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा स्वास्थ्य उपकरण हस्तान्तरण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।


सुस्ता गाउँपालिकामा आयोजित कार्यक्रममा फाउण्डेसनकी सचिव सारिका चौधरी र गाउँपालिकाका तर्फबाट पालिका अध्यक्ष टेकनारायण उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो।


बर्थिङ सेन्टर सञ्चालनमा आएपछि जिल्लाको ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूले सहज रुपमा गुणस्तरीय सेवा पाउने सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले विश्वास व्यक्त गर्नुभयो।

फाउण्डेसनले नवलपरासीमा लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सहयोग पुर्‍याउदै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने चौधरी फाउण्डेसनका सचिव सारिका चौधरीले बताउनुभयो ।


“बर्थिङ सेन्टर सेवा सञ्चालनमा आएपछि यहाँका महिला र बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने हाम्रो विश्वास छ,” उहाँले भन्नुभयो।
सुस्ता गाउँपालिका अन्तर्गत वडा न. ५ मा रहेको स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सेवा सञ्चालनमा आउने भएको हो।प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार सन्तुले सुस्ता गाउँपालिकाको सबैभन्दा विकट क्षेत्र मानिने पकलीहवा क्षेत्रका महिलाहरुको अब स्वास्थ्य सेवामा सहज पहुँच हुने विश्वास व्यक्त गर्नुभयो।


पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र न १ बाट निर्वाचित सांसद विनोद चौधरीको सक्रियतामा बर्थिङ सेन्टर सेवा सञ्चालनमा आएको हो।उहाँले निर्वाचनमा प्रत्येक नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो।


सम्झौता अनुसार फाउण्डेसनले स्वास्थ्य केन्द्रका लागि एक जना एमबीबीएस चिकित्सक,एक जना अनमीको खर्च र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने भएको हो।सम्झौता अनुसार गाउँपालिकाले प्रत्येक वडामा नियमित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्नेछ।
सम्झौता कार्यान्वयनमा आएको मितिदेखि चौधरी फाउण्डेसन र सुस्ता गाउँपालिका दुबै बर्थिङ सेन्टरको स्तरोन्नति र सुदृढिकरणका लागि संयुक्त रुपमा काम गर्नेछन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?