
बर्दघाट।बिजुलीका पोलमा जथाभावी रुपमा टाँगिएका केबुल टिभी र ईन्टरनेट सेवा प्रदायक कम्पनीका तारका गुजुल्टाले बर्दघाट नगरपालिका क्षेत्रको सौन्र्दयकरणमा बाधा पुगेको छ।
बर्दघाट नगरक्षेत्रमा सेवा प्रवाह गरिरहेका केबुल तथा ईन्टरनेट सेवा प्रदायक कम्पनीले प्रयोग गरेका तारका लठ्ठाले सौन्र्दयमा बाधा पुगे पनि यसमा सरोकारवाला भने गम्भिर भएका छैनन।
यस अघि २०७९ मंसिर मसान्त भित्र केबुल टिभी तथा ईन्टरनेट सेवा प्रदायक संघसंस्थालाई नगरपालिकामा सुचीकृत गर्ने निर्णय भएको थियो।उक्त निर्णय कार्यान्वयनमा नगरपालिकाले तदारुकता नदेखाउदाँ बिजुलीका पोलमा अब्यवस्थित तारका लुप(गुजुल्टो) ज्युँ का त्युँ छन् ।
बर्दघाट–४ शिवालय टोलका स्थानीय बासिन्दा मोहन कुमार शाक्यले पोलमा जथाभावी रुपमा तोरण जस्तै टाँगिएको केबुल र ईन्टरनेटमा तारले दुर्घटना निम्तिदै आएको बताउनुभयो।’हेनुस् न तोरण झै तार,हेर्दा पनि कति नराम्रो–उहाँले भन्नुभयो–’तारको कारण पानी पर्दाको बखत बिजुली सर्ट भएर करेन्ट लाग्ने अवस्था छ।तर कसैको ध्यान छैन।’तारको कारण पानी पर्दाको अवस्थामा बाटोमा खेल्ने बालबालिका एंव बटुवाहरुलाई समेत करेन्ट लाग्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो।
बिजुलीका पोलमा अब्यवस्थित रुपमा टाँगिएका केबुल तथा इन्टरनेटमा तारले नगर नै कुरुप बनाउदै गएको उहाँको गुनासो छ।’हाम्रो टोलमा त अझै बिजुलीको पोल टाँगेको बर्षाै भइसक्दाँ पनि बिजुलीका तार नै टाँग्न आएका छैनन्’–रित्तो पोल देखाउदै शाक्यले भन्नुभयो–केबुल तथा इन्टरनेटमा तारका पनि गुजुल्टो उस्तै छ।’
मंसिर तेस्रो साता बर्दघाट नगरपालिकामा भएको सरोकारवालाहरु बीचको छलफलले नगरमा सेवा प्रदान गर्ने सबै केबुल तथा ईन्टर नेट सेवा प्रदायक कम्पनीहरुले मंसिर मसान्त सम्म नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणवाट अनुमति लिएर नगर पालिकामा सुचिकृत हुने निर्णय गरेको थियो । करिब एक दर्जन कम्पनीका तारका लुप बिजुलीका पोलमा रहेपनि एउटा बाहेक कुनै पनि केबुल तथा ईन्टरनेट सेवा प्रदायक कम्पनीले नगरमा सुचीकृत गरेका छैन् ।
हरेक बिषयमा निर्णय गर्ने तर कार्यान्वयन पक्ष फितलो हुने बर्दघाट नगरपालिकाको बानी बिजुलीका पोलमा टाँगिएका अब्यवस्थित तार हटाउनेमा समेत देखिएको हो।
मंसिर तेस्रो साताको भएको निर्णयमा सबै संस्थाले
अनिर्वाय कर तिर्ने र प्रयोगमा नआएका बिजुलीका पोलहरुमा रहेका खाली तारहरु हटाउदै जाने तथा नयां तार जडान गर्दा नियम अनुसारको उचाईमा रहने गरी तार जडान गर्ने समेत सहमति भएको थियो। उक्त सहमति भएको दुई महिना बढी समय हुदाँ समेत कडाई पूवर्क कार्यान्वयन नहुदाँ बिजुलीका पोलले तारको बोझ बोकिरहनु परेको छ।
यसबाट बिजुली पोलमा केबुल र इन्टरनेटका तारका कारण भएको कुरुपता र त्यसबाट हुनसक्ने संभावित दुर्घटनाको न्यूनिकरण गर्ने बर्दघाट नगरको योजना अलपत्र जस्तै छ।
सहमति अनुसार काम नगरे केबुल तथा ईन्टरनेट ब्यवसायी कम्पनीका अब्यवस्थित तार बिद्युत प्राधिकारणले काट्ने सो बेला सहमति समेत भएको थियो।
उक्त सहमतिमा बर्दघाट नगरपालिका मात्र होइन बिद्युत प्राधिकरण समेत उदाशीन देखिएको हो।नेपाल बिद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख ई.दिगम्वर यादवले तार ब्यवस्थित गर्ने बारे सेवा प्रदायक कम्पनीसंग फागुन दोस्रो साता सम्म बैठक गर्ने योजनामा रहेको जानकारी दिनुभयो।’हामी कहाँ धेरै जसो केबुल र ईन्टरनेट कम्पनी दर्तामा आएका छन्।उहाँले भन्नुभयो–’नगरसंग समन्वय गर्ने योजनामा छौ।’
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ बिजुलीका पोलका अब्यवस्थित तारलाई ब्यवस्थित गर्ने बारे तयारी भइरहेको दावी गर्नुहुन्छ।नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले अब्यवस्थित रहेका केबुल एंव इन्टरनेट कम्पनीका तार ब्यवस्थित गर्ने सम्बन्धमा अनुगमन तथा नियमनको चरणमा रहेको जिकिर गर्नुभयो।