ट्रेन्डीङ्ग

रजत जयन्ती मनाउँदै सिद्धार्थ बहुउद्देश्यीय सहकारी भूमही

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका- १२ भूमही स्थित सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रजत जयन्ती मनाउने भएको छ। सहकारी स्थापनाको २५ वर्ष प्रवेशको अवसरमा भोलीदेखि तीन दिनसम्म विविध कार्यक्रमका साथ उत्सवको रुपमा रजत जयन्ती मनाउन लागिएको संस्थाले जनाएको छ ।

माघ १६ देखि १८ गतेसम्म विशेष उत्सवको रुपमा सहकारीको रजत जयन्ती मनाउन लागिएको संस्थाका अध्यक्ष यमलाल पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाले संस्था स्थापनाकालमा तदर्थ समिति गठन भएको दिन २०५४ माघ १८ गतेको दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

आगामी माघ १८ गते रजत जयन्ती विशेष समारोह(मूख्य कार्यक्रम) र त्यसअघि माघ १६ र १७ गते अन्य कार्यक्रम हुने अध्यक्ष पाण्डेयले बताउनुभयो । माघ १८ गते हुने मुख्य कार्यक्रम अन्र्तगत उद्घाटन, सम्मान, पुरस्कार तथा सांस्कृतिक कार्यक्रम तय गरिएको छ । संस्थाको कार्यक्षेत्र अन्र्तगतका तीनै तहका जनप्रतिनिधि,राजनीतिक दलहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको विशेष आतिथ्यमा हुने उक्त समारोहमा सहकारी स्थापना कालका २६ जना सदस्यलाई विशेष सम्मान गरिने अध्यक्ष पाण्डेयले बताउनुभयो ।

सहकारीका सस्थापक अध्यक्ष स्व.नित्यान्द पोखरेल सहित दुई जनालाई मरणोपरान्त सम्मान गरिनेछ । सोही अवसरमा सहकारीको स्थापनादेखि हालसम्म सञ्चालक समिति तथा विभिन्न उपसमितिमा रहेर योगदान गरेका सदस्यहरु, स्थापनादेखि हालसम्मका कर्मचारीहरुलाई सम्मान,वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण र राष्ट्रिय कलाकार खुमन अधिकारी र रमिला न्यौपाने सहितका कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम पनि गरिने संस्थाले जनाएको छ ।

त्यसअघि माघ १६ गते शिक्षा शिविरको आयोजना गरिएको छ । सहकारीमा आवद्ध शेयर सदस्य नं. १००१ देखि १५६१ नम्बर सम्मका शेयर सदस्यलाई सहकारी शिक्षा शिविर सञ्चालन गरिने संस्थाले जनाएको छ । माघ १७ गते भने महिला नेतृत्व विकास तालिम र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।

सहकारीद्धारा गठित महिला सशक्तिकरण उपसमिति अन्र्तगत गठित १६ वटा टोल समितिका सदस्यहरुलाई प्रदान गरिने नेतृत्व विकास तालिमान नेपाल जेसीजकी राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रजनी थापाले प्रशिक्षण दिनुहुनेछ । सोही दिन आर्थिक विकासमा सहकारीताको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता हुने अध्यक्ष पाण्डेयले बताउनुभयो । प्रतियोगितामा २६ विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।

यस संस्थाले बचत र ऋणको कारोबारसहित विगत तीन वर्षदेखि शेयर सदस्यहरुलाई निर्माण सामग्री सुपथ मूल्यमा विक्री वितरण गर्दै आएको संस्थाका उपाध्यक्ष जयराम बस्यालले जानकारी दिनुभयो।

सामाजिक उत्तरदायित्व अन्र्तगत ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई चौरासी पुजामा नगदसहित सम्मान, ८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई सम्मान, ७० वर्ष पूरा भएका सदस्यलाई तीर्थाटन कार्यक्रम तथा सुत्केरी भेटघाट कार्यक्रम,मृत्यु संस्कार राहत कार्यक्रम, बाल बचत कार्यक्रम प्रोत्साहन, नवविवाहित दम्पतीलाई शुभकामना सम्मान,गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण, शेयर सदस्यहरुको दुर्घटना बीमा लगायतका कार्यक्रमहरु पनि गर्दै आएको संस्थाका उपाध्यक्ष बस्यालले बताउनुभयो ।

संस्थामा हाल महिला १०४८ र पुरुष ९८९ गरी दुई हजार ३७ जना शेयर सदस्य रहेको व्यवस्थापक यमुना पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सहकारीले रु ४१ करोड बराबरको कारोबार गरिरहेको छ । संस्थाको कार्यक्षेत्र सुनवल नगरपालिकासहित बर्दघाट नगरपालिका र सरावल गाउँपालिका रहेको छ । रजत जयन्ती अन्र्तगतका कार्यक्रमको सम्पूर्ण तयारी करिब पूरा भएको सहकारीका सचिव रमेश पराजुलीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?