ट्रेन्डीङ्ग

गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क पौष्टिक आहार बितरण

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क पौष्टिक आहार उपलब्ध गराएको छ । नगर भित्रका गर्भवति तथा सुत्केरी महिलाहरको पोषणको अवस्था सुधार गरी कुपोषणमुक्त नगरपालिका बनाउने उद्देश्यले नगरपालिकाले पहिलो पटक गर्भवति र सुत्केरी महिलाहरुलाई निःशुल्क रुपमा पौष्टिक आहार वितरण गर्न थालेको हो ।

नगरका १८ वटै वडामा एकै साथ कार्यक्रम गरी गभर्वति र सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण गरिएको थियो । रामग्राम नगरपालिका वडा नं. १६ स्थित शुक्रौली स्वास्थ्य चौकीमा कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख धनपत यादवले गर्भवति र सुत्केरी महिलाहरुको पोषण सुधारका लागि नेपालमा उत्पादीत पूर्व तयारी पौष्टिक आहार सहितको पोषण सामग्री वितरण गरिएको बताउनुभयो । उहाँले पोषणको नियमित प्रयोगको सुनिश्चितता गर्न र पोषणमैत्री व्यवहारमा परिवर्तन ल्याई कुपोषणमुक्त नगरपालिका बनाउने सोचका साथ आफूले यो कार्यक्रम वार्षिक कार्यक्रममा समेटेर कार्यान्वयनमा ल्याएको उल्लेख गर्नुभयो ।

यसको माध्यमबाट विद्यमान पोषण तथा मातृ सुरक्षाको अवस्थामा सुधार ल्याउने, पोषणमैत्री व्यवहारमा परिवर्तन ल्याई सभ्य समाजको निर्माण गर्ने, जन्मदै कुपोषित बच्चा जन्मने दर न्यून गरी कुपोषणको कारण राष्ट्रले व्यहोर्नु परेको लगानी तथा खर्च कम गर्न साथै रामग्राम नगरपालिका भित्र बसोबास गरेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई न्यूनतम पोषणयुक्त सामग्री उपलब्ध गराउने उद्देश्य रहेको नगर प्रमुख यादवले बताउनुभयो ।
हाललाई गर्भवती महिलालाई ६ महिना तथा सुत्केरीलाई ४५ दिन पुग्ने गरी पौष्टिक आहारको झोला उपलब्ध गराईइएको बताउँदै उहाँले आगामी दिनमा थप बजेट सुनिश्चित गरी कार्यक्तमलाई व्यापक बनाउने जानकारी दिनुभयो ।

नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनका अनुसार रामग्राम नगरपालिकामा यो कार्यक्रम नयाँ हो । यसअघि गर्भवती महिलाहरुलाई एक महीनाको लागि पुग्ने पौष्टिक आहार मात्र वितरण गर्ने गरिएको थियो । रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा भईसकेकोले बालमैत्री दीगोपनाका लागि गर्भवती र सुत्ेकरी महिलाको पोषण सुधार सुचकांकलाई मध्यनजर गरेर पनि यो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो।

पौष्टिक तत्वको रुपमा पूर्व तयारी अवस्थाको खिर र हलुवा उपलब्ध गराईएको बताउँदै उहाँले दैनिक १०० ग्राम खाजाको रुपमा पकाएर खान आग्रह गर्नुभयो । पौष्टिक आहारको माध्यमबाट गर्भमा रहेका बालबच्च्चाको शारीरिक, मानसिक वृति विकासमा टेवा पुग्नुका साथै गर्भवती र सुत्केरी महिलाको पोषणमा सुधार हुने उल्लेख गर्नुभयो ।

यो सेवा पाउन लक्षित लाभग्राहीले स्वास्थ्य संस्था वा अस्पतालबाट नियमित गर्भवती जाँच गरेको मातृशिशु कार्डको प्रतिलिपि पेश गर्नुपर्ने शुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज बलराम सापकोटाले जानकारी दिनुभयो । सुत्केरी भएमा विसिजी खोप लगाएको रेकर्ड हुनुपर्नेछ । रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार हाल नगर भित्र रहेका गर्भवती महिला ६१९ र सुत्केरी २७६ गरी कूल ८९५ जनालाई निःशुल्क पौष्टिक आहार उपलब्ध गराईनेछ ।यस्तै नगर उपप्रमुख सम्झना चौधरीले उनवछ स्वास्थ्य चौकी उजैनीमा आयोजित कार्यक्रममा त्यहाँका गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal