ट्रेन्डीङ्ग

बर्दघाट मेलामा ७३ लाख १ हजार ६० रुपैयाँ आम्दानी

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित छैठौं बर्दघाट कृषि,पर्यटन तथा औद्योगिक व्यापार मेलाबाट ७३ लाख १ हजार ६० रुपैयाँ आम्दानी भएको छ।

 

 

मेला आयोजक बर्दघाट उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी पुस एकदेखि ११ गते सम्म सञ्चालन भएको उक्त मेलामा ५ लाख ५१ हजार ९०० रुपैयाँ बचत गर्न सफल भएको जानकारी दिएको हो।मेलाको आयव्यय सार्वजनिक गर्दै संघका अध्यक्ष लेखनाथ न्यौपानेले मेलामा ६७ लाख ४९ हजार १६० रुपैयाँ खर्च भएको बताउनुभयो।उहाँका अनुसार टिकटबाट ३५ लाख एक हजार ६० रुपैयाँ,बाल उद्यान रमाइलो मेलाबाट रु पन्ध्र लाख,स्टलबाट रु दस लाख,प्रायोजकबाट रु सात लाख ५० हजार,बैंक पार्टनरबाट रु एक लाख,फिल्डबाट रु चार लाख ५० हजार आम्दानी भएको छ।

 

 

२०० स्टल रहेको उक्त मेला करिब डेढ लाख दर्शकले अवलोकन गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो।

 

 

मेला अपेक्षाकृत सफल भएको उहाँको भनाइ थियोे।मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा,साना तथा घरेलु उत्पादन,जडिबुटी तथा कृषि उत्पादन,शैक्षिक,स्वास्थ्य,बैंक तथा वित्तीय संस्था,होटल तथा रेष्टुरेण्ट,बाल उद्यान लगायतका स्टल रहेका थिए।

 

 

मेलामा कृषि,हस्तकला, घरेलु उत्पादन तथा महिला उद्यमीका स्टल निःशुल्क् राख्ने व्यवस्था गरिए पनि अपेक्षाकृत रुपमा ती क्षेत्रका स्टलको सहभागिता नभएको अध्यक्ष न्यौपानेले बताउनुभयो।

 

 

मेला सञ्चालन हुँदै आएको हरियाली नगर वन क्षेत्रलाई बर्दघाट मण्डपको रुपमा विकास गर्न तीन तहका सरकार र अन्य सरोकारवाला निकायसँग पहल भईरहेको संघका महासचिव दिनेश न्यौपानेले बताउनुभयो।

 

 

मेलाबाट बचत भएको रकमबाट व्यवसायीलाई आवश्यक तालिम तथा विपद् कोष स्थापना गर्ने निर्णय गरिएको महासचिव न्यौपानेले उल्लेख गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?