नवलपरासी । प्रतापुर सुस्ता सब डिभिजन वन कार्यालयले त्यस क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहबीच संयक्त सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सुस्ता गाउँपालिका अन्तरगत रहेका ५ वटा सामुदायिक वन र एउटा प्रस्तावित सामुदायिक वनका पदाधिकारीको सहभागीतामा संयुक्त सिकाई आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो ।
सुस्ता गाउँपालिका वडा नम्बर १ का बनदेवी सामुदायिक वन, जनकल्याण सामुदायिक वन, कालिका सामुदायिक वन उपभोक्ता समूह र राजाराम प्रस्तावित सामुदायिक वनका पदाधिकारीहरुको सहभागीता रहेको थियो । त्यस्तै सुस्ता गाउँपालिका वडा नम्बर २ मा पर्ने कमारवर्ति सामुदायिक वन र मदरबाबा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रतापुर सुस्ता सब डिभिजन वन कार्यालयका रेन्जर चिन बहादुर यादवले उपभोक्ता समूहले प्रभावकारी ढंगले वन संरक्षणमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वनजंगल संरक्षण, आगलागी नियन्त्रण, वन ऐन नियम, कार्यविधि, घाटगद्दि, उपभोक्ताहरुलाई सुकेका दाउरा ल्याउन वन खोल्ने सम्बन्धमा, साधारणसभा लगायतका विषयमा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुले आफ्नो अनुभव साटासाट गरेका थिए ।