ट्रेन्डीङ्ग

आचारसंहिता प्रतिकूलका सामग्रीबारे जानकारी दिन पत्रकार महासङ्घलाई काउन्सिलको आग्रह

काठमाडौँ।निर्वाचनका समयमा पत्रकार तथा सञ्चार माध्यमले आचारसंहिता प्रतिकूलका कार्य गरेमा काउन्सिलमा जानकारी दिन प्रेस काउन्सिल नेपालले नेपाल पत्रकार महासङ्घ केन्द्रसहित सबै प्रदेश समित र जिल्ला शाखालाई आग्रह गरेको छ।

मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी गरिरहेको विशेष अनुगमनलाई प्रभावकारी बनाउन सहयोग गर्न महासङ्घका सबै प्रदेश र जिल्ला शाखासमेतलाई पत्राचार गरेको हो।

काउन्सिलले प्रत्येक प्रदेशमा संयोजन गर्नेगरी बोर्ड सदस्यहरूलाई जिम्मेवारीसमेत तोकेको छ।पत्रकार तथा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि र सामग्री सम्प्रेषण गरे सिधैँ काउन्सिल तथा जिम्मेवारी प्राप्त सदस्यहरूलाई जानकारी दिन सकिनेछ।

प्रदेश १ मा गणेश पोखरेल,मधेस प्रदेशमा लालबाबु शेख,बाग्मती प्रदेशमा चिरञ्जीवी मास्के,गण्डकी प्रदेशमा दुर्गा भण्डारी पौडेलले संयोजन गर्नुभएको छ।यस्तै लुम्बिनी प्रदेशमा शरदप्रसाद अधिकारी,कर्णाली प्रदेशमा रामप्रसाद दाहाल,सुदूरपश्चिम प्रदेशमा हरिप्रसाद जोशीलाई सम्पर्क गरेर जानकारी दिन सकिन्छ भने उपत्यकामा टेलिभिजन तर्फ ठाकुरप्रसाद बेलबासे र छापा माध्यमतर्फ दीपक पाण्डेलाई सम्पर्क गर्न सकिने काउन्सिलले जनाएको छ।

निर्वाचन आचारसंहिता लागु भएसँगै काउन्सिलले सञ्चार माध्यमहरूमा वस्तुगत र विषयगत रूपमा पत्रकार र निर्वाचन आचारसंहिताको समेत अनुगमन गरिरहेको छ।

कुनैपनि पत्रकार अथवा सञ्चार माध्यमले निर्वाचन लक्षित गरी पत्रकार आचारसंहिता विपरीतका कार्य गरेमा काउन्सिलको वेबसाइट www.presscouncilnepal.gov.np मा गइ अनलाइन उजुरी प्रणालीमा समेत उजुरी गर्न सकिने व्यवस्था मिलाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal