
काठमाडौँ।प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन,२०७९ लक्षित गरी प्रेस काउन्सिल नेपालले अनुगमनलाई तिव्रता दिएको छ।काउन्सिलले गर्दै आएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचनलक्षित सञ्चार माध्यममा आचारसंहिताको अनुगमन समेत गरिरहेको हो।
अनुगमनका लागि पत्रपत्रिका,रेडियो,टेलिभिजन र अनलाइनको छुट्टा छुट्टै समुह बनाइ काम सुरु गरेको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिनुभयो।
मङ्गलबार काउन्सिलले अनुगमनमा खटिएका कर्मचारी सहित तथ्याङ्कविज्ञसँग छलफल गरेको थियो।यस अघिका आम निर्वाचनहरूमा समेत तथ्याङ्क प्रशोधनसहित अनुमगनको अनुभव सङ्गालेका तथ्याङ्कविज्ञद्वारा तथ्याङ्क प्रशोधन-अनुगमन विधिबारे सङ्क्षिप्त अभिमुखीकरण भएको सूचना अधिकारी बोहराले बताउनुभयो।
उहाँले काउन्सिलले आफ्नो नियमित अनुगमनसँगै निर्वाचन अनुगमनलाई समेत निरन्तरता दिएको र पत्रकार तथा सञ्चार माध्यमसम्बद्ध सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन समेत भइरहेको जानकारी दिनुभयो ।
यसअघि काउन्सिलले २०६४ सालको संविधान सभा निर्वाचन,२०६५ सालको उपनिर्वाचन,२०७४ सालको स्थानीय तह,प्रदेश र प्रतिनिधि सभा निर्वाचन र २०७९ सालको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सञ्चार माध्यम विशेष अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरिसकेको छ।