
काठमाडौं।सत्तारुढ पाँच दलीय गठबन्धनवीच ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा आगामी चुनावी तालमेलको सहमति जुटेको हो ।
बैठकमा सहभागी नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरूसँग भन्नुभयो,‘४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गर्यो।’बैठकले सिट बाँडफाँटको गृहकार्य गर्न ११ सदस्यीय कार्यदल गठन पनि गरेको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट तीन जना तथा अन्य दलबाट दुई दुई जना रहेका छन।स्रोतका अनुसार कांग्रेसँबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् ।
यस्तै,नेकपा(एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल कार्यदलमा छन।यसैगरी,जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।
कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम साता सम्म सिफारिस गर्न कार्यादेश दिइएको छ।
यसबारे विस्तारै थाहा दिने भन्दै कांग्रेस केन्द्रीय सदस्य कार्कीले तालमेलका लागि व्यवस्थित र न्यायपूर्ण गर्न आज वृहत रुपमा सहमति भएको स्पष्ट पार्नुभयो ।