ट्रेन्डीङ्ग

नामावली संकलन स्थगित,थपिए साढे ४ लाख मतदाता

काठमाडौँ।मतदाता नामावली संकलन स्थगित भएको छ। सरकारले बिहीबार मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो।

मतदाता नामावली ऐन,२०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन साउन २० गतेदेखि स्थगित हुने आयोगले जनाएको छ।

साथै अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा साउन २१ भोलिसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

२०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावयता २७ लाख मतदाता थपिएका छन्। २०७४ सालको निर्वाचनपछि बिहीबारसम्मको तथ्यांकअनुसार २७ लाख ५४ हजार ३०१ मतदाता थपिएका छन्। पछिल्लो पाँच वर्षमा झन्डै १८ प्रतिशत मतदाता थपिएको देखिन्छ।

निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार २०७४ सालको संघीय र प्रदेशसभा निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए। वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका बेला सार्वजनिक गरिएको अन्तिम नामावलीमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना थिए।

स्थानीय तह निर्वाचनपछि गत असार १ गते यता फेरि आयोगले मतदाता परिचयपत्र दिन थालेको थियो।वैशाख ३० को स्थानीय निर्वाचनपछि आजसम्म चार लाख ४८ हजार ५१६ मतदाता थपिएको अर्यालले बताए।यो सँगै अहिले एक करोड ८१ लाख ८२ हजार २३९ मतदाता पुगेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal