
काठमाडौ।संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो बचाउ गरेका छन्। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि हातपात गरेका आरोप लागिरहेका बेला मन्त्री आलेले आफूले हातपात नगरेको बताएका हुन्।
उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन्।
‘समाचारमा उल्लेख भएजस्तो संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुर्व्यवहार तथा हातपात गरिएको छैन र यस विषयलाई जोडेर आएको समाचार सत्य होइन।’
आलेले भने,‘यसबारेमा हाम्रो मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सीसीटिभी क्यामेरा हेर्दा पनि प्रष्ट हुन्छ। आवश्यक परे मन्त्रालय र प्रशासनले सीसीटीभीका फुटेज उपलब्ध गराउन सक्नेछ।’
कतिपय कामहरुमा निर्देशन दिनुपर्ने, सचेत गराउनुपर्ने, सम्झाउनुपर्ने हुनसक्ने र मन्त्रालयलको नेतृत्वकर्ताको हैसियतले त्यो क्रम निरन्तर पनि रहने मन्त्रीले बताएका छन्।
उनले जापानलगायतका गन्तव्यमा सर्वसाधारण, विद्यार्थी, भारतमा उपचारमा जाने बिरामीलगायतले टिकट सहजै नपाउने, निगमकै कारण बजारमा कृत्तिम अभाव गराई आफू निकट एजेन्सीबाट मात्रै टिकट बिक्री गर्ने गरेको भन्नेजस्ता गुनासो अत्यधिक आएपछि स्थानीय तहको चुनावअघि नै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधिएको र त्यसपछि पनि सचेत गराउने काम भने जारी नै रहेको उनले बताए।