

गल्याङ।स्याङ्जाको गल्याङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई गल्याङ नगरपालिका सिटी हलमा गरिएको विशेष कार्यक्रममा प्रमाणपत्र वितरण हो ।
प्रमाणपत्र वितरण कार्यक्रममा गल्याङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गुरु प्रसाद भट्टराईले आफुहरुको परीक्षा सुरु भएको बताउनुभयो । उहाँले अबको पाँच वर्ष जनताले आफुहरुलाई परीक्षा दिन पठाएको भन्दै आफुहरुले गर्ने कामका आधारमा पाँच वर्षपछि बल्ल अंक पाउने बताउनुभयो ।
कृषि,शिक्षा,स्वास्थ्य,पूर्वाधार लगायतका क्षेत्रमा गल्याङ नगरपालिकामा गर्नुपर्ने कामहरु धेरै भएको भन्दै नवनिर्वाचित नगरप्रमुख भट्टराईले जनअपेक्षा पुरा गर्नु आफुको अर्जुनदृष्टि रहेको बताउनुभयो।
कार्यक्रममा नेकपा एमाले गल्याङ नगर कमिटिका अध्यक्ष दानबहादुर थापाले अघिल्लो निर्वाचनपछि नगरपालिका नयाँ भएकाले धेरै समस्या भएकोमा अहिले भने केही सहज भएको बताउनुभयो ।उहाँले प्रशासनिक भवन लगायतका पूर्वाधार विकास गर्न अब केही सहजता मिलेको बताउनुभयो ।
नेपाली काङ्ग्रेस गल्याङ नगर समितिका सभापति श्यामप्रसाद बस्यालले जनताले विश्वास गरी मत दिएकाले जनप्रतिनिधिहरुले सोही अनुसारको व्यवहार गर्नुपर्ने बताउनुभयो।गल्याङका जनताका अपेक्षा पुरा गर्नका लागि नगरवासीले मिश्रीत मत दिएकाले सोही अनुसार जनप्रतिनिधिहरु मिलेर विकासको नयाँ लहर ल्याउनुपर्नेमा जोड दिनुभयो।
गल्याङ नगरपालिका,निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत काशिराम गैह्रेले शान्तिपूणर् रुपमा निर्वाचन सफल पार्न सहयोग प्राप्त भएकोमा राजनीतिक दल, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार तथा नगरवासीहरुलाई निर्वाचन आयोगका तर्फबाट समेत धन्यवाद व्यक्त गर्नुभयो ।
गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले नव निर्वाचित जनप्रतिनिधिहरुले गल्याङलाई नमूना नगरपालिका बनाउन शुभकामना दिनुभयो । उहाँले गल्याङ नगरपालिकाका कर्मचारीहरु नगरको विकासका नीतिहरुलाई कार्यान्वयन गर्न सधैं प्रतिबद्व रहेको बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित नगर उपप्रमुख हेमा न्यौपाने,११ वटै वडाका अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव केदारराज आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रम गल्याङ नगरपालिका ३ का अध्यक्ष महेश भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।
स्थानीय तह सदस्य निर्वाचनको मतगणना हिजो सकिएपछि नवनिर्वाचित जनप्रतिनिधिलाई आज प्रमाणपत्र वितरण गरिएको हो।
गल्याङ नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेद्वार गुरु प्रसाद भट्टराई तथा उपप्रमुखमा पनि नेपाली काङ्ग्रेसकै उम्मेद्वार हेमा न्यौपाने निर्वाचित हुनुभएको छ ।