
चैत १९,स्याङ्जा। प्रहरीले झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट नागरिकता बनाएको आरोपमा वडा अध्यक्ष पक्राउ गरेको छ । प्रहरीले स्याङ्जाको आँधीखोला गाउँपालिका ३ का वडाध्यक्ष ४८ वर्षीय विष्णुबहादुर खत्रीसहित ५ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही वडाका वडासचिव ५२ वर्षीय बालकृष्ण शर्मा, सोही वडाकी ४० वर्षीया सीता पौडेल, आँधीखोला-३ घर भई हाल पर्वतको कुश्मा नगरपालिका ५ बस्दै आएका २५ वर्षीय नवराज पौडेल र कुश्मा नगरपालिका १ घर भई वडा नं.५ मा बस्ने २० वर्षीया सोनु पौडेल भन्ने सोनु अधिकारी रहेका छन् ।
पर्वतको कुश्मा नगरपालिका २ बस्ने कृष्ण अधिकारी र डोमकुमारी अधिकारीको २० वर्षिया छोरी सोनु अधिकारीले स्याङ्जाको आँधीखोला गाउँपालिका ३ बस्ने कृष्णप्रसाद पौडेल र सीता पौडेलको छोरी हुँ भनी वंशजको आधारमा नागरिकता निकालेकी थिइन् । प्रहरीका अनुसार यही चैत १ मा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन् ।
उक्त नागरिकता दिलाउन सहयोग गर्ने वडाध्यक्ष खत्री, सचिव शर्मालागयत ५ जनालाई नै नागरिकतासम्बन्धी कसूर (झुट्टा विवरण पेश गरी नागरिकता बनाएको) शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट बिहीबार म्याद थप गरिएको स्याङ्जा प्रहरीका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।