
अनिता गमजेर,चैत १५,उदयपुर।नेपाल कम्युनिस्ट पार्टीले उदयपुरका क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका संथापक तथा क्रान्तिकारी धरोहर पुर्ण ब. खत्री ( खेतला)को श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ।
खत्री बि.स.१९९१ भदौ २६ मा उदयपुर कटारी नगरपालिका वडा न. १० बरडाडामा जन्मनु भएको थियो भने २०७८ चैत्र २ मा निधन भएको थियो। निधन भएको १३ औं दिन नेपाल कम्युनिस्ट पार्टीको र खत्रीको परिवारको संयुक्त आयोजनामा सैयौ को उपस्थितिमा श्रद्धाञ्जली सम्पन्न भएको छ। २०३३ सालमा कम्युनिस्ट पार्टी सदस्यता भएको खत्री नेकपा चौमको सेक्रेटरी २०३३, नेकपा मशाल जिल्ला सेक्रेटरी २०४७,नेकपा एकता केन्द्र जिल्ला सेक्रेटरी २०४८, जनमोर्चा जिल्ला अध्यक्ष २०४८, अखिल नेपाल किसान संघको जिल्ला अध्यक्ष २०५४, एकीकृत नेकपा माओवादीको जिल्ला सल्लाहकारको जिम्मेवारी निभाउनु भयो भने हाल बिप्लब नेतृत्वको नेकपामा आबद्ध हुनुहुन्थ्यो ।
केही बर्षदेखि खत्री कम्युनिस्ट नामधारी संसदीय पार्टीले जनतालाइ धोका दिएको,संसद वादमा पतन भएको र अब क्रान्ति गर्ने शक्ति नेकपामा मात्रै आशा र भरोसा भएको भन्दै नेकपामा आबद्ध हुनु भएको हो। समाजमा बर्ग रहेसम्म म र हामी बिचमा लडाइँ चलिरहने र अन्तत हामिले बिजय हासिल गर्ने उहाँको बिश्वास थियो। जिबनभर कम्युनिस्ट आन्दोलनमा लागेर बस्ने घर समेत नभएको उहाँलाई नेपाल कम्युनिस्ट पार्टीले ३ कोठे आवास समेत निर्माण गरिदिएका थिए भने एक बर्ष देखि मासिक २००० खर्च समेत ब्यबथा गर्दै आएका थिए।
श्रद्धाञ्जली कार्यक्रमको संचालन दुर्गा तामाङले गरेका थिए भने अध्यक्षता खत्रीको छोरी स्वस्तिका र प्रमुख अतिथी पार्टी सेक्रेटरी लक्ष्मण पौड्यालले गर्नु भएको थियो।अन्य पालिका इन्चार्ज,सेक्रेटरी पनि आशन ग्रहण गरेका थिए।
कार्यक्रममा बोल्दै पौड्यालले पुर्ण ब.खत्रीको निधनले अभिभावक बिहिनताको महशुस भएको र उहाँको जहिले आन्दोलनमा अभाव खड्किरहने बताउनु भयो। पौड्यालले खत्रीको जिबनमा विशेषत ३ कुरा कहिले भुल्नु नहुने भन्दै जिबनभर क्रान्तिकारी,निजि सम्पतिको तिलान्जली र पद लोलुप्ता बाट टाढा रहने बताउनु भयो। उहाँको यो त्याग,समर्पण र क्रान्तिकारी गोरेटो कोरिदिएकोले उहाँलाई सम्मान स्वरुप आवास निर्माण गरिएको बताए। कार्यक्रममा उहाँको आवास निर्माणमा सहयोग गर्नेहरुलाइ कदर पत्र समेत बितरण गरिएको थियो।
अन्त्यमा खत्रीको माइली छोरी समेत रहेका कार्यक्रमका अध्यक्ष स्वष्तिकाले जीवन भर बुवाले गरेको योगदानलाई सम्झेर नेकपाले गरेको सहयोग प्रती परिवार आभारी भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो। अरुले कुरा मात्रै गरे तर यो पार्टीले साच्चिकै अनुसरणिय काम गरेको भन्दै खुसी व्यक्त गर्दै हामी सम्पुर्ण परिवार बुवाले देखाउनु भएको बाटोबाट कहिले बिचलित नहुने समेत प्रतिबद्धता ब्यक्त गरे।