ट्रेन्डीङ्ग

सैनामैनामा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

प्रदिप ज्ञवाली, फाल्गुण १७,सैनामैना ।
रुपन्देहीको सैनामैनामा नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौ नगरस्तरीय खेल सप्ताह आज(मङ्गलवार) बाट सुरु भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित वडा नं. ७ देउवापार स्थित श्री सरस्वती माध्यमिक विद्यालको खेलमैदानमा एक कार्यक्रमका बिच सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीले उद्घाटन गरेका हुन ।

नगर खेलकुद विकास समितिको आयोजनामा मंगलबादेखि सुरु भएको प्रतियोगिता फागुन २२ गते सम्म चल्नेछ ।

प्रतियोगितामा ६ विधामा खेल खेलाइने छ । जसअन्तर्गत एथलेटिक्स, भलिबल,कवड्डी, क्रिकेट छात्र डिउज बल, फुटबल छात्र र तेक्वान्डो लगायतका खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष अमर लम्सालले जानकारी दिनुभयो ।

एथलेटिक्समा पनि २ विद्यामा खेल हुनेछ् । खेलमा छात्र र छात्रा समुह विभाजन गरिएको छ । जसमा ट्रयाक तर्फ कक्षा ६ देखि १० सम्म छात्र —छात्रा १ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटर दौड प्रतियोगिता हुनेछन् भने रिलेदौड प्रतियोगिता समेत हुने समितिले जनाएको छ ।

ट्रयाकतर्फ नै कक्षा ११ र १२ तर्फ छात्र —छात्रा दुबै नै ८ सय, १५ सय र ३ हजार मिटर दौड खेल हुनेछ ।

त्यस्तै एथलेटिक्सकै अर्को विधा फिल्डतर्फ कक्षा ६ देखि १० सम्म छात्र छात्रामा हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ, थ्रो सटफुटलगायत खेल रहेका छन् ।

प्रतियोगितामा भलिबल र कबड्डी तर्फ कक्षा ६ देखि १० सम्म र कक्षा ११ र १२ का बिचमा पनि खेल खेलाइने भएको छ । जसमा छात्र —छात्रा समूह विभाजन गरिएको छ ।

नगरका विभिन्न स्थानमा सञ्चालन हुने प्रतियोगितामा क्रिकेट छात्र डिउज बल कक्षा ६ देखि १० सम्म खेल खेलाइनेछ भने कक्षा ११ र १२ का बिचमा छात्र फुटबल प्रतियोगिता हुनेछ ।

त्यस्तै तेक्वान्डो प्रतियोगिता छात्र—छात्रा ऐच्छिक अनुसार हुनेछ । उक्त प्रतियोगितामा सैनामैनाका १६ सामुदायिक र १६ संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रतियोगितामा सहभागी जनाउनेछन् । उद्घाटन कार्यक्रममा नगरका २२ विद्यालयले मार्चपास गरेका छन् । जसमा सैनामैना माध्यमिक विद्यालय प्रथम, सिद्दार्थ मेमोरियल द्धितीय, कोटियादेवि मावि तृतिय र रामपुर मावि शान्त्वना भएको छ ।

नगरस्तरीय खेलसप्ताहको उद्घाटन गर्दै प्रमुख कार्कीले खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा मात्रै नभई विद्यालय विद्यालय बीचको भातृत्व समेत विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले स्थानीयस्तरमा रहेका प्रतिभालाई उजागर गर्न र खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेलसप्ताहलाई निरन्तरता दिइने धारणा राख्नुभयो । राष्ट्रियस्तरको खेललाई आधारभूत स्तरबाटै सिकाउने काम भइरहेको समेत प्रमुख कार्कीको भनाई छ ।

कार्यक्रममा संस्थागत विद्यालयको तर्फबाट सिद्दार्थ मेमोरियल विद्यालयका प्राचार्य भोजराज पौडयाल, सामुदायिक विद्यालयको तर्फबाट जनकल्याण माविका प्राचार्य अर्जुन पोखरेल, नेपाली कांग्रेस नगरसभापति रणबहादुर खनाल, नेकपा माओवादीका नगर अध्यक्ष नारायण महत, नेकपा एमालेका नगरसचिव बुद्धिराम चौधरी लगायतले बोल्दै शिक्षासँगै खेलकुद क्षेत्रलाई पनि नगरले प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रम नगर खेलकुद विकास समितिका अध्यक्ष अमर लम्सालको अध्यक्षता, सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा उपप्रमुख बिना राना, प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हेमराज अर्यालको विशिष्ठ आतिथ्यतामा भएको हो । कार्यक्रममा जनप्रतिनीधि, विद्यालयका प्राचार्य, विद्यार्थी र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन सदस्य सचिव महेश अधिकारीले गर्नुभएको थियो ।

प्रतियोगिता सम्पन्न गर्नका लागि पालिकाले ११ लाख ५० हजार बजेट छुट्टाएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?