सुर्य बहादुर गोले, फागुन १२,मकवानपुर। एमसिसी विरुद्ध संयुक्त संघर्ष समितिले आज मकवानपुरका माननीय संघीय संसद प्रतिनिधि सभा सदस्य द्वय विरोध खतिवडा ज्यू र कृष्ण प्रसाद दाहाल ज्युलाई राष्ट्रघाती एमसिसी सम्झौताका सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएको छ। हेटौँडा स्थित भैरव रोडमा रहेको विरोध खतिवडा र औल डाँडामा रहेको कृष्ण प्रसाद दाहालको आफ्नै निवासमा पुगी सम्बन्धित माध्यम मार्फत उक्त पत्र बुझाएको हो।

पत्रमा सिँगो मुलुक तथा आम देशभक्त नेपालीहरु राष्ट्रघाती एमसिसीको विरुद्ध राष्ट्रघाती एमसिसी खारेज गर, राष्ट्रघाती एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन जस्ता नारा लगाउँदै सशक्त रुपमा सडकबाट खबरदारी गरिरहँदा शेर बहादुर देउवाको गठबन्धन सरकार अमेरिकी साम्राज्यवादको कठपुतली बन्दै स्वाभिमानी नेपालीहरुको शान्तिपूर्ण आन्दोलनमा भीषण दमन गर्दै राष्ट्रघाती एमसिसी एम सिसी संसदमा पेश गरेर अनुमोदन गर्ने जुन मूर्खता देखाइरहेको छ। यो आम देशभक्त नेपाली जनतालाई स्वीकार्य छैन। तैपनि यतिखेर नेपाली जनताको विरोधका बावजूद कठपुतली सरकारले एमसिसी सदनमा पेश गरिसकेको छ। यो प्रति हाम्रो खेद छ भन्ने कुरा उल्लेख गरेको छ। यतिखेर एम सिसी सदनले नै छिनोफानो गर्ने विषय बनिसकेको कारण सांसदहरुको निर्णायक भूमिका बन्न पुगेकोले मकवानपुरबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने माननीय विरोध खतिवडा र कृष्ण प्रसाद दाहाललाई राष्ट्रघाती एम सिसीको विपक्षमा खडा हुन मकवानपुरे स्वाभिमानी जनताको प्रतिनिधित्व गर्दै विभिन्न ६ राजनीतिक पार्टीे, दुई मोर्चा र एक मञ्चले संयुक्त रुपमा पत्र मार्फत अपिल गरेको छ।

अन्त्यमा नेपाल आमालाई साम्राज्यवादको पोल्टामा सुम्पने धृष्टता गर्नु हुने छैन भन्ने विश्वासका साथ यो संवेदनशील अपिललाई वेवास्ता गर्दै राष्ट्रघाती एमसिसीको पक्षमा उभिने दुस्साहस गर्नु भयो भने यो धर्तीमा स्वाभिमान पूर्वक बाँच्ने छुट उहाँहरुलाई हुने छैन भनी पत्र मार्फत कडा चेतावनी समेत दिएको छ।