ट्रेन्डीङ्ग

गल्याङमा २२ हजार वटा बाख्रालाई नि:शुल्क पिपिआर विरुद्वको खोप

फाल्गुन ३ गल्याङ। स्याङ्जाको गल्याङ नगरपालिकामा २२ हजार वटा बाख्राका लागि निशुल्क पिपिआर विरुद्वको खोप लगाइने भएको छ।

नगरपालिकाका ११ वटै वडामा सुरु भएको अभियान फागुन २२ गते सम्म सञ्चालन हुने गल्याङ नगरपालिकाले जनाएको छ । बाख्रामा लाग्न सक्ने पिपिआर रोग महामारीको रुपमा फैलन सक्ने भन्दै गल्याङ नगरपालिकाले पहिले नै खोपको व्यवस्थापन गरेको हो ।

गल्याङ नगरपालिकामा हाल करिब २२ हजार बाख्रा रहेको र सबै बाख्रालाई खोपको व्यवस्था गरिने बताइएको छ ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले बाख्रामा लाग्न सक्ने रोगको रोकथामका लागि निशुल्क खोपको व्यवस्थापन गरिएको बताउनुभयो।उहाँले व्यवसायिक रुपमा बाख्रापालन गर्नेहरुको संख्या बढिरहेको भन्दै रोगको अग्रिम रोकथाममा पनि नगरपालिका लागिरहेको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो -‘उत्पादन बढाउनका लागि नगरपालिकाले कुनै कसर बाँकी राख्दैन, किसानहरुलाई आवश्यक पर्ने सबै कुरामा हाम्रो उत्तिकै ध्यान छ ।’उहाँले उत्पादनका आधारमा बाख्राको मासुमा पनि अनुदानको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्थाले किसानमा उत्साह आएको भन्दै उहाँले मासुमा पनि प्रतिकिलोका दरले अनुदान दिने कार्यविधि बनाउन लागिएको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले दुध किनेर खानुपर्ने नगरपालिकामा अहिले दैनिक तीन हजार लिटर दुध निर्यात भैरहेको भन्दै उत्पादनका आधारमा किसानलाई अनुदान दिदा वास्तविक किसानसामु अनुदान पुग्ने बताउनुभयो ।

गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले केही ठाउँहरुमा बाख्रामा रोग देखिएको भन्दै गल्याङमा रोग नदेखिदै रोकथाम गर्न खोजिएको बताउनुभयो ।

गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले नगरपालिका भित्रका एउटा पनि बाख्रा नछ्ुटुन भन्ने हिसाबले निशुल्क खोपको व्यवस्थापन सबै वडा मार्फत गरिएको जानकारी दिनुभयो ।

नेपालमा २०५०/५१ मा पहिलो पटक पिपिआर रोग देखा परेको र त्यसपछि महामारीको रुपमा देखिएको उहाँले जानकारी दिनुभयो । पिपिआर विरुद्वको खोप लगाउनका लागि गल्याङ नगरपालिका पशु चिकित्सक डाक्डर अनिस सापकोटा सहित पशु प्राविधिकहरु वडा वडामा खटिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal