ट्रेन्डीङ्ग

वाक्वाणी माविमा शिक्षक अभाव,एसइई दिने विद्यार्थी शिक्षक माग गर्दै नगरपालिकामा

  • सुनवलको शिक्षा क्षेत्रमा राजनीतिक छायाँ !
  • सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-११ स्थित वाक्वाणी माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलित बनेका छन । विद्यालयमा विषयगत शिक्षक अभाव भएपछि विद्यालयको पठनपाठन अस्तव्यस्त बनेपछि विद्यार्थीहरू नगरपालिकाको गेटमा उत्रिएका हुन् ।

     

    विद्यार्थीहरूले मंगलबार दिउसो नगरपालिका घेराउ गर्दै नगरप्रमुख र शिक्षा शाखा विरुद्ध नाराबाजी गर्दै तत्काल अंग्रेजी र सामाजिक शिक्षकको व्यवस्था गर्न माग गरेका छन।एसईईको परिक्षा दिने तयारीमा रहेका विद्यार्थी पढ्ने समयमा शिक्षक अभाव हुँदा आन्दोलन गर्ने बाध्य भएका छन।

     

    अभिभावक तथा  शैक्षिक सरोकारवालाले बिमला अर्याल नेतृत्वमा भएको शिक्षक सरुवा तथा पदस्थापन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन। शैक्षिक आवश्यकता भन्दा राजनीतिक पहुँच र पूर्वाग्रहलाई प्राथमिकता दिदै आफु निकटका शिक्षकको सरुवा र पदास्र्थापन रोक्ने  कार्य गर्दा वाक्वाणी मावि प्रत्यक्ष मारमा परेको उनीहरुको भनाई छ।

     

    “शिक्षकलाई दरबन्दी रहेको विद्यालयमै राख्ने उद्देश्यले सरुवा तथा पदस्थापना गर्न प्रयास गरेको हो, पछी कसलाई के चित्त बुझेन विवाद गरेर कार्यदल बनाएर पुनः सरुवा र पदस्थापन गर्दा वाक्वाणीको समस्या झन् बढेको छ,  शिक्षा  शाखा प्रमुख विष्णु गौतमेले भने ।“

    भूगोल र विद्यार्थी संख्याका आधारमा विद्यालयमा शिक्षक तलब खुवाउने समस्या रहेको उल्लेख गर्दै उनले भने, “जहाँ दरबन्दीमा छ, त्यही शिक्षक रहनुपर्छ भन्ने मेरो मान्यता हो। सोही अनुसार पदस्थापना र सरुवा गरिएको थियो। पछि विवाद आएपछि कार्यदल बनाएर पुनः सरुवा तथा पदस्थापना गरियो, जसले झन् वाक्वाणी माविलाई अन्याय गर्‍यो। सरुवा भएका शिक्षक वाक्वानि जाने हो भने  विधार्थीको समस्या समाधान हुन्थ्यो” गोतामेले भने ।

     

    वाक्वाणी माविका विद्यालय व्यवथापन समितिका अध्यक्ष दिपक रानाले शिक्षामा राजनीति गर्न खोजिएको बताउदै नगर प्रमुखकै कारण विद्यालयमा अंग्रेजी शिक्षकको अभाव भएको बताए । मैले बुझे अनुसार सरुवा भएका शिक्षकलाई रोक्ने नगरप्रमुख हो भन्ने सुनिएको छ,शिक्षामा राजनीति गर्नुले विद्यार्थीको भविष्यनै अध्यारोमा लाने जोखिम बढाएको छ, अब तत्कालै पठाउछु भन्नु भएको छ आशा गरौ रानाले भने ।

     

    विगतमा पनि नगरप्रमुखले आफु निकटका शिक्षक सरुवा रोक्न शिक्षा शाखा प्रमुखलाई स्पस्टिकरण माग्ने लगायतका विषयले विवादमा तानिएकि थिइन् । विवाद सेलाउन नपाउदै फेरी शिक्षक अभावको विधार्थी आन्दोलनले सुनवलमा तरंग पैदा गरेको छ। विद्यार्थीहरू सडकमा उत्रिन बाध्य हुनु स्वयं स्थानीय शिक्षा व्यवस्थामाथिको गम्भीर प्रश्न बनेको छ ।

     

    नगरपालिकामा विद्यार्थीले नगरप्रमुखलाई भेट्न खोजेपनि नगरप्रमुखले  ३ घण्टा कुराएर बल्ल विद्यार्थीलाई भेटेकी थिइन् । नगरप्रमुखले विधार्थी संग भोलिनै बुधबार विद्यालयमा अंग्रेजी शिक्षक पठाउने आश्वासन दिएको बताईएको छ । सो विद्यालयमा सामाजिक विषयका शिक्षक छैनन् । नमुना भनिएको सुनवलको शिक्षा क्षेत्र पछिल्लो समय निरन्तर विवादमा पर्दै आएको छ ।

     

    यता, नगर प्रमुख बिमला अर्याललाई यस बिषयमा थप बुझ्न खोज्दा फोन उठेन। सुनवलमा शिक्षाको विषयमा निरन्तर प्रश्न उठिरहेको छ, विद्यार्थीको भविष्यको जिम्मेवारी कसको  ?

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?