ट्रेन्डीङ्ग

खेल क्षेत्रका अग्रजदेखि उदयीमान प्रतिभालाई कावासोती नगरपालिकाको सम्मान

नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले खेलकुद क्षेत्रको विकास, संरक्षण तथा खेलाडीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यसहित पूर्व खेलाडी, उदयीमान प्रतिभा र विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरेको छ।

 

मंगलबार नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका पूर्व खेलाडीहरूलाई सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा राष्ट्रिय भलिबल खेलाडी सरोज महतो, ब्याडमिन्टन खेलाडी विष्णु श्रेष्ठ, क्रिकेट खेलाडी राजु गुरुङ, एथलेटिक्स खेलाडी तिलक जी।सी।, फुटबल खेलाडी रमेश श्रेष्ठ तथा बक्सिङ खेलाडी शेरबहादुर गुरौ रहेका छन्।

 

यसैगरी खेल क्षेत्रमा सम्भावना बोकेका उदयीमान खेलाडी क्षितिज खनाल, आयुष्मा चापागाईं र एरोन विक्रम मल्ललाई पनि विशेष सम्मान गरिएको थियो।

 

कार्यक्रममा प्रदेश, राष्ट्रिय तथा जिल्ला स्तरका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक हासिल गरेका खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। साथै आधारभूत तहस्तरीय खेलकुद प्रतियोगितामा सहभागी ३० सामुदायिक विद्यालय तथा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी १५ विद्यालयलाई प्रोत्साहनस्वरूप अनुदान रकम वितरण गरिएको थियो।

 

खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने प्रशिक्षक, अफिसियल तथा विभिन्न खेलसम्बद्ध संघ–संस्थालाई समेत कार्यक्रममा सम्मान गरिएको थियो।

कावासोती–१२ का वडाध्यक्ष तथा नगर खेलकुद विकास समितिका अध्यक्ष ध्रुव खनाल (दीपेश) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेश पाण्डे, नगर शिक्षा अधिकारी डा। बालकृष्ण चापागाईं, शिक्षा शाखा अधिकृत राजन पाण्डे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुन, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दिपेन्द्रराज श्रेष्ठ तथा जिल्ला फुटबल संघका अध्यक्ष मेघराज पाण्डेलगायतको उपस्थिति रहेको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खनालले नयाँ र पुराना खेलाडीलाई एउटै मञ्चमा ल्याएर अनुभव आदानप्रदान, आपसी परिचय विस्तार तथा खेलाडीहरूको मनोबल उच्च बनाउने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले यस वर्ष कावासोतीमा मोफसलकै सर्वाधिक पुरस्कार राशिको कावासोती गोल्डकप तथा साइकल दौडजस्ता नयाँ खेल प्रतियोगिता सञ्चालन गरी खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा नगरपालिका सक्रिय रहेको उल्लेख गर्नुभयो।

अध्यक्ष खनालले आगामी आर्थिक वर्षका लागि करिब ९९ लाख रुपैयाँ बजेट माग गर्ने गरी खेलकुदसम्बन्धी योजना तयार पारिएको जानकारी दिँदै कावासोतीलाई खेलमैत्री नगरका रूपमा स्थापित गर्ने लक्ष्यका साथ नगरपालिका अघि बढिरहेको बताउनुभयो।

कार्यक्रममा शिक्षा शाखा अधिकृत राजन पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्रोत शिक्षक तीर्थ कँडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। सो अवसरमा नगर शिक्षा अधिकारी डा। बालकृष्ण चापागाईं, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुन तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दिपेन्द्रराज श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?