
स्याङ्जा।स्याङ्जाको पुतलीबजारमा जिल्लाकै पहिलो व्यवस्थित र आधुनिक बधशाला सञ्चालनमा ल्याइएको छ।गण्डकी प्रदेश सरकार र पुतलीबजार नगरपालिकाको संयुक्त लगानी, समन्वय तथा प्राविधिक सहकार्यमा यस क्षेत्रमै पहिलो बधशाला बुधबारदेखि सञ्चालनमा ल्याइएको हो।
विगत लामो समयदेखी आँधीखोला किनारमा जथाभावी र अव्यवस्थित रूपमा भैंसी बध गर्ने कार्यले निम्त्याएको बेथिति र दुर्गन्धलाई सदाका लागि अन्त्य गर्दै उपभोक्तालाई गुणस्तरीय, स्वच्छ र सफा मासु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ यो बधशालाको सुरुवात गरिएको पशु चिकित्सक डाक्टर अनिल चौधरीले जानकारी दिए।
पुतलीबजार नगरपालिका वडा नं. १ स्थित मालेबगर खेलमैदान नजिकै निर्माण गरिएको यस आधुनिक बधशालामा सुरुवातमा भैंसी बध गरी मासु बिक्री-वितरण गर्ने व्यवस्था मिलाइएको छ।बजारको मुख्य हिस्सा ओगट्ने आँधीखोला किनारको खुल्ला क्षेत्रमा पशु बध गर्दा बजारभरि दुर्गन्ध फैलिएको भन्दै स्थानीय नागरिकबाट जनगुनासो आउने गरेको थियो।नागरिकको सोही स्वास्थ्य सरोकार र गुनासोलाई सम्बोधन गर्न सुरुमा प्रदेश सरकारले पूर्वाधार निर्माणको थालनी गरेको थियो।पछि सोही योजनालाई पालिकाले अपनत्व गर्दै थप लगानी, आवश्यक उपकरण र प्रशासनिक व्यवस्थापन सहित सञ्चालनमा ल्याइएको डाक्टर चौधरीले बताए।
खुल्ला ठाउँमा हुने ढल र रगतको असुरक्षित विसर्जनलाई रोक्न बधशालाभित्रै फोहरमैला व्यवस्थापनको उचित प्रविधि जडान गरिएको छ, जसले गर्दा नजिकै रहेको खेलमैदान र आसपासको बस्तीलाई कुनै असर पर्ने छैन।
हालका लागि परीक्षण र सुरुवातको रूपमा भैंसीको मात्रै बध सुरु गरिएको भएतापनि आगामी दिनमा नेपाल सरकारको ‘पशु वधशाला तथा मासु जाँच ऐन’ का सम्पूर्ण मापदण्ड र नियमहरू पालना गर्दै खसी, बोका तथा अन्य पशुहरूको समेत छुट्टाछुट्टै व्यवस्थित रूपमा बध गर्ने गरी यसको क्षमता र दायरा विस्तार गरिने योजना रहेको डाक्टर चौधरीको भनाइ छ।











