
पश्चिम नवलपरासीको सुनवल-११ केरवानमा रहेको अमरपोखरी प्रगतिशील युवा क्लबले विद्यार्थीलाई शैक्षिक सामग्री तथा झोला वितरण गरेको छ। क्लबले सोही वडाको बेवरेस्थित जय श्री आधारभूत विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो।
क्लबले विभिन्न समयमा आयोजना गरेका सांस्कृतिक कार्यक्रम तथा देउसी-भैलोबाट संकलित रकमबाट शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष विशाल ढकालले बताए।

“साना हातमा नयाँ झोला, सुन्दर भविष्यको नयाँ पाइला” भन्ने उद्देश्यका साथ विद्यार्थीलाई झोला, पेन्सिल, इरेजर, कटर र कापी वितरण गरिएको क्लबका सदस्य चिरन भट्टराई जानकारी दिए।
कार्यक्रममा क्लबका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, तथा प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो।












