
सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित त्रिपुरेश्वर शिव धाममा शिवपुराण ज्ञान महायज्ञ सुरु भएको छ। १०८ शिवलिङ्ग स्थापना तथा ज्येष्ठ नागरिक सत्संग भवन निर्माणार्थ सहयोग संकलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको आयोजक समितिले जनाएको छ।
धार्मिक आस्थासँगै सामाजिक रूपान्तरणको सन्देश प्रवाह गर्ने विश्वासका साथ महायज्ञ सञ्चालन गरिएको आयोजकले जनाएको छ।कार्यक्रममा बोल्ने वक्ताहरूले समाजलाई सकारात्मक दिशा दिन यस्ता धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन।वक्ताहरूले धार्मिक ज्ञानले समाजमा सद्भाव, नैतिकता र सकारात्मक सोच अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए।
महायज्ञमा कथा वाचक व्यास समाज लुम्बिनी प्रदेशका अध्यक्ष व्यास श्री पुरुषोत्तम बस्याल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल ‘सुनिल’, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेत, सुनवल नगरपालिका प्रवक्ता एवं वडा नं. १३ का अध्यक्ष कृष्णप्रसाद बगाले, लेखनाथ खरेल, चुरामणी पाण्डे र संस्थाकी सचिव देवकला खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
महायज्ञ अवधिभर दैनिक रूपमा कथा वाचन,पूजा,हवन तथा आरती कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।यस्तै,महायज्ञकै अवसरमा फागुन ३ गते नेपालमै पहिलो पटक ११ जना गुरुहरूद्वारा एकैसाथ महाआरती गर्ने विशेष कार्यक्रम राखिएको छ।महायज्ञमा प्रमुख वाचक आचार्य नारायण कृष्ण तथा वाचक ज्योतिष पण्डित दुर्गा प्रसाद बशिष्ठ रहने जानकारी तुलसा न्यौपानेले दिएकी छन्।











