ट्रेन्डीङ्ग

नेपाली सर्च इन्जिनको मोबाइल एप सार्वजनिक

काठमाडौं।घटस्थापनाको अवसर पारेर नेपाली सर्च इन्जिन प्रा.लि.ले आफ्नै मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । अब एन्ड्रोइड र आइओएस प्रयोगकर्ताले Nepali Search Engine एप निःशुल्क डाउनलोड गरी प्रयोग गर्न सक्ने भएका छन।

 



यस एपमार्फत प्रयोगकर्ताले सजिलो खोज सेवा, नेपाली भाषामा प्राथमिकतासहितको सामग्री, स्थानीय समाचार तथा जानकारी, अध्ययन सामग्री, मनोरञ्जन र विभिन्न डिजिटल सेवाहरू एउटै प्लेटफर्ममा पाउनेछन।

 

 



विशेषगरी, यस एपले नेपालभर रहेका व्यवसाय तथा संघ–संस्थाको विवरण क्याटेगोरी (श्रेणी) र लोकेशन (स्थान) अनुसार सहजै खोज्न मिल्ने सुविधा प्रदान गर्नेछ । जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक संस्था, व्यापार वा सेवाप्रदायकलाई छिट्टै पत्ता लगाउन सक्नेछन।

 

 



कम्पनीका अनुसार, यस एपको उद्देश्य निराशामा रहेका व्यवसायीलाई उत्साहित बनाउन, सबै संघ–संस्थालाई एउटै डिजिटल प्लेटफर्ममा ल्याउन र नेपाललाई डिजिटल युगतर्फ अघि बढाउन हो।

 

 



प्रविधिले विश्वलाई तीव्र गतिमा परिवर्तन गरिरहेको अवस्थामा नेपालमा पनि यस्ता प्रविधिको प्रयोग हुनु स्वाभाविक भएको र सबै व्यवसाय, संस्था तथा उपभोक्ताले यस किसिमका डिजिटल साधनलाई अंगिकार गर्नुपर्ने आवश्यकता रहेको कम्पनीले जनाएको छ ।

 

 



नेपाली सर्च इन्जिन प्रा.लि.का प्रतिनिधिले भने :“हामी नेपाली व्यवसाय र संघ–संस्थालाई विश्वसँग डिजिटल रूपमा जोड्ने लक्ष्यमा छौं । अब प्रयोगकर्ताले लोकेशन र श्रेणी अनुसार आफ्ना आवश्यकता पूरा गर्ने संस्था वा व्यवसाय सहजै खोज्न सक्नेछन् । यो हाम्रो सामूहिक डिजिटल भविष्यतर्फको ठुलो पाइला हो।”

 



एप हालैदेखि गुगल प्ले स्टोर र एप स्टोर दुवैमा उपलब्ध छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal