ट्रेन्डीङ्ग

प्रधानमन्त्रीलाइ चिठ्ठी…..

सम्माननीय प्रधानमन्त्रीज्यू 🇳🇵
मान्छेहरूले भन्छन् तपाईं राष्ट्रका बुबा हो। त्यसैले यो पत्रलाई विरोधी नागरिकको हैन, एक छोरीको पत्रको रूपमा पढ्नुस्।म एक स्वतन्त्र नागरिक , तपाईंलाई बुबा मानेर, पीडाले भरिएको छोरीले आफ्ना कुरा राखिरहेकी छु ।
के यो देश तपाईंको मात्रै हो र बुवा ? लाखौँ युवा आफ्नो करियर, कला र व्यवसाय YouTube, Facebook, Instagram जस्ता प्लेटफर्ममा निर्माण गर्दै थिए। नेपालमा करिब ३० लाख भन्दा बढी मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अनलाइन प्लेटफर्ममा निर्भर छन् । हजारौँ परिवारको भान्सा निभ्यो। एकपटक सोच्नुभयो त, ती परिवार अब के खाने? के कमाउने? तपाईंले प्लेटफर्म बन्द गर्नु अघि के ती परिवारलाई वैकल्पिक रोजगारी दिनुभयो? तपाईंले सोच्नु पर्थ्यो पहिले विकल्प दिन्छु , जनतालाई तयार बनाउछु। तर, सिधै बन्द गरियो ।

तपाईंलाई थाहा छ? नेपालका लाखौँ आमा–बुबा Messenger बाट मात्रै आफ्ना टाढा रहेका छोराछोरीसँग जोडिएका थिए। उनीहरू जीवनभर मोबाइल चलाउनै जान्थेनन्, बटन थिच्न डराउथे , तर विदेशमा गएका सन्तानसँग बोल्ने रहरले काँप्दै काँप्दै Messenger चलाउन सिके। युवाले त VPN प्रयोग गरेर पनि कुनै न कुनै उपाय निकाल्लान् तर जसले महिनौँ लगाएर एउटा कल गर्न सिके, त्यो आमाबुबालाई तपाईंको प्रतिबन्धले एक झट्कामै फेरि एक्ल्याइदियो। त्यो तिनको लागि सानो चमत्कार थियो, जुन तपाईंको निर्णयले खोसिदियो।

Facebook र YouTube मा जनता “सत्य” बोल्थे। नागरिकले नेताको भ्रष्टाचार, असक्षम नेतृत्व, अकुत सम्पत्ति देखाउन थालेका थिए। अनि के भयो? तपाईंलाई सडकमा उत्रिएका जनताभन्दा पनि, यि एपमा जनताले बोलेको सत्य बढी खतरनाक लाग्यो। त्यसैले तपाईंहरूले प्लेटफर्मनै बन्द गरेर जनताको मुखमा टेप लगाउने प्रयास गर्नुभयो। के तपाईंलाई लाग्छ आलोचना बन्द गरियो भने जनताको आवाज पनि हराउँछ? होइन बुबा, आवाज त अझ ठूलो हुन्छ। सत्य बोल्ने जिब्रो अझ धारिलो हुन्छ। आक्रोश अझ गहिरो हुन्छ। जनताको आवाज थुन्ने होइन, सुन्ने हिम्मत देखाऊनुस् ।
YouTube, Facebook, Instagram ले बिहानदेखि बेलुकासम्म अरबौं डलर कमाइ रहन्छ। तपाईंले सोच्नु पर्थ्यो नेपाल जस्तो सानो बजारमा Apps बन्द गर्दा उनीहरूलाई के फरक पर्छ? केही पनि पर्दैन। तर, यही निर्णयले नेपालका लाखौं परिवारको आम्दानी बन्द गरिदियो, युवाको करियर नष्ट गरिदियो, र देशको digital credibility ध्वस्त बनाइदियो।
नेपाल बन्छ आवाजलाई जगाएर, दबाएर होइन। लोकतन्त्रको अर्थ बुझ्नुहोस् र याद राख्नुहोस् यो डिजिटल युग हो बुवा विचारलाई जेल हाल्न सकिँदैन, आवाजलाई बन्द गर्न सकिँदैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal