
काठमाण्डौ।भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ। नयाँ दिल्लीमा रहेको प्रधानमन्त्री निवासमा हिजो बेलुका भएको भेटमा परराष्ट्रमन्त्री राणा र प्रधानमन्त्री मोदीबीच नेपाल-भारत सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको छ।साथै मन्त्री राणाले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ।
भेटपछि सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तोपत्र मोदीलाई हस्तान्त्ररण गरेको जानकारी दिनुभएको छ।भेटका क्रममा नेपाल-भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ।
नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीका तर्फबाट शुभकामनासमेत सुनाउनुभएको उल्लेख छ।मोदीले निमन्त्रणाप्रति धन्यवाद व्यक्त गर्दै चाँडै नै नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गर्नुभएको छ।
त्यसअघि हिजो मन्त्री डा.राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गर्नुभएको थियो।भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री राणा आइतवार भारतको औपचारिक भ्रमणमा जानुभएको हो।उहाँ पर्सि भदौ ६ गते स्वदेश फर्कनुहुने तालिका छ।