
रुपन्देही । क्रान्तिकारी युवा संगठन नेपालले भष्ट्रचारी बिरुद्ध जनकारबाहीमा उत्रिने चेतावनी दिएको छ।क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट युवा संगठनले भ्रष्टाचार बिरूद्व संघर्षमा उत्रिने चेतावनी दिदै आवश्यक परे जनकारवाही गर्ने बताएको हो ।
संगठनले देशमा बिभिन्न स्थानमा भष्ट्राचारका बिरुद्ध आन्दोलन गर्दै भष्ट्राचारमा संलग्न उपर कालोमोसो दल्दै आएको जनाएको छ । क्रान्तिकारी युवा संगठन नेपाल लुम्बिनी(५ नम्बर)प्रदेश समितिले आइतवार बुटवलमा पत्रकार सम्मेलन गरि आफ्ना ३९ बुँदे माग समेत सार्वजनिक गरेको छ ।
संगठनले देशका तमाम समस्या समाधानका लागि यसअघि प्रधानमन्त्रीलाई २०बुँदे ज्ञापनपत्र बुझाएको जनाएको छ।
ती मागहरू सम्बोधन हुने नदेखिएकाले लुम्बिनी प्रदेश भित्रका जनजिविका,जनतन्त्र,जनाधिकारका बिषयलाई केन्द्रमा राखेर ३९ बुँदे माग सार्वजनिक गरेको क्रान्तिकारी युवा संगठन नेपाल प्रदेश इन्चार्ज झलक बिश्वकर्माले जानकारी दिए।
विश्वकर्माले देश यतिबेला राजनीति,आर्थिक,सामाजिक सांस्कृतिक समस्याहरूको चंगुलमा फसेको,देश निर्माण गर्ने युवा शक्ति विदेश पलायन हुने संख्या डरलाग्दो गरि बढेको,भ्रष्टाचार,कमिसन,ठगी लगायत अपराधका घटना बढ्दै गएको र जिम्मेवार निकाय समस्या समाधान गर्ने तर्फ गम्भीर नदेखिएकाले संघर्षमा उत्रिनु परेको बताए ।
तमाम समस्याका कारण नेपाली समाज विघटनको दिसातिर अगाडि बढेको भन्दै उनले मुलुकमा ब्याप्त बिकृति र बिसंगतिको अन्त्यका लागि संघर्षमा उत्रिनुको बिकल्प नभएको बताए ।
भ्रष्टाचार,जनजिविका र जनअधिकारको बारेमा सरकारको ध्यानाकर्षण गराउन सिंहदरबार, संसद भवन, बालुवाटार लगायतका ठाउँमा अर्धनग्न प्रदर्शन गरेको र उक्त अभियानलाई प्रदेश,जिल्ला हुँदै पालिकामा बिस्तार गर्दै लैजान लागेको संगठनले जनाएको छ ।
संगठनका प्रदेश इन्चार्ज झलक बिश्वकर्मा र प्रदेश संयोजक संगीन भिउ थापाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा विकास निर्माणकार्यमा भएको ढिलासुस्ती,कमिसन तत्काल अन्त गर्नुपर्ने, स्वास्थय र शिक्षा क्षेत्रमा भइरहेको नीजिकरण तथा माफियाकरण अन्त्य गर्नुपर्ने, कृषि तथा औद्योगिक ब्यापारको ब्यवस्था मिलाई युवाहरूलाई रोजगारीको ब्यवस्था गर्नुपर्ने,बैंक तथा वित्तीय आतंक बन्द गर्नुपर्ने , उपभोक्ता समितिमा पार्टी कार्यकर्ता भर्ती गरि गरिने आर्थिक अनियमितता बन्द गर्नुपर्ने, अबैधानिक क्रेसर उद्योग बन्द गर्नुपर्ने,पहाडी वस्ति तथा नदि क्षेत्रमा भएको डोजर आतंक बन्द गर्नुपर्ने लगायतका माग समेटिएको छ ।
संगठनले यसअघि बागलुङ बडीगाड गाउपालिका स्वास्थ शाखा प्रमुख बिपेन्द्र प्रताप केसी र बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रल्हाद कार्की लगायत लाई जनकारबाही स्वरूप कालोमोसो दलेको जिम्मेवारी लिएको थियो ।