ट्रेन्डीङ्ग

नेपाल नेदरल्याण्डससँग पराजित,विश्वकप खेल्ने सपना अधुरै

काठमाडौं।आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्डस्सँग पराजित भएको छ।यो हारसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना टुङ्गिएपछी विश्वकप खेल्ने सपना अधुरो भएको छ।

जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्ट क्लबको मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्डस्सँग सात विकेटले पराजित भएको हो।जितसँगै नेदरल्यान्डस् भने सुपर सिक्समा प्रवेश गरेको छ।

त्यस्तै यस खेलसँगै समूह ‘ए’ बाट सुपर सिक्समा पुग्ने टोलीको टुङ्गोसमेत लागेको छ।समूह ‘ए’ मा रहेको नेपाल र अमेरिका प्रतियोगिताबाट बाहिरिएका छन् भने नेदरल्यान्डस्, जिम्बावे र वेस्टइन्डिज प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेका छन।

नेदरल्यान्डस्को जितमा म्याक्स ओडाउडले ७५ बलमा आठ चौका र छ छक्कासहित ९० रन बनाए।त्यस्तै साव डि लिडेले ४१ रन र विक्रमजित सिंहले ३० रन बनाए।नेपालका सन्दीप लामिछानेले दुई विकेट र गुल्सन झाले एक विकेट लिए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको थियो।नेपालका लागि कप्तान रोहित पौडेलले ३३,कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७–२७,भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए।

नेदरल्यान्डस्का लागि लागन भान विकले चार विकेट लिए भने विक्रमजित सिंह र बास डि लिडेले समान दुईदुई विकेट हात पारे । त्यस्तै क्लेटन फ्लोयड र आर्यन दत्तले समान एक–एक विकेट लिए।

नेपाल यसअघि जिम्बावेसँग आठ विकेट र वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो अन्तरले पराजित भएको थियो।त्यस्तै नेपालले अमेरिकालाई भने ६ विकेटले पराजित गरेको थियो।

यसअघि जिम्बावेसँग छ विकेटले पराजित नेदल्यान्डस्ले अमेरिकालाई पाँच विकेटले हराएको थियो।समूह चरणको आफ्नो अन्तिम खेल सोमबार नेदरल्यान्डस्ले वेस्टइन्डिजसँग खेल्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal