
परासी।नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपाले अमेरिकी स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी)मा नेपाल सहभागी भए अर्को युक्रेन बन्ने चेतावनी दिएको छ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’द्वारा जारी विज्ञप्तिमा अमेरिकाको साम्राज्यवादी रणनीति र नेपालको दलाल पुँजीवादी राज्यको आत्मसमर्पणवादी चरित्रका कारण देशलाई युक्रेन बनाउन लागिएको उल्लेख छ।
अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डका प्रमुख जनल चार्ल्स एन्थोनी फ्लिनले नेपाल भ्रमण गरी राष्ट्रपति,प्रधानमन्त्री र प्रधानसेनापतिसँग स्टेट पार्टनरसीप प्रोगामको (एसपीपी)१० बुँदे सम्झौताको प्रस्ताव गरेका दाबी विप्लव नेकपाले गरेको छ।
राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित गरिसकेपछि नेपालमा अमेरिकाले आफ्नो प्रत्यक्ष उपस्थितिलाई मजबुत बनाउँदै आफ्ना गतिविधिहरु बढाइरहेको भन्दै नेकपाले नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौम अधिकारमाथि खुलम्मुला धावा बोलेको र यो निकै घातक रुपमा आएको ठहर गरेको छ।
देशलाई युद्रको मारमा फसाउने पडयन्त्रलाई अँध्यारो कोठाबाट स्वीकृत दिने देउवा गठबन्धन सरकारको यसप्रकारको हर्कतले मुलुकको सार्वभौम अधिकारमाथि ठूलो चुनौती खडा भएको नेकपाको ठहर छ।
‘राष्ट्रियताजस्तो अति संवेदनशील विषयमासमेत हल्का ढंगको लिने देउवा सरकारलाई स्टेट पार्टनरसीप प्रोगामको १० बुँदे सम्झौता नगर्न हाम्रो पार्टी खबरदारी गर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ।
उक्त स्टेट पार्टनरसिप प्रोगामको १० बुँदे सम्झौता प्रस्ताव नेपाली जनता र राष्ट्रविरुद्ध भएकाले एकताबद्ध भएर साम्राज्यवादी हस्तक्षेपको विरोध गर्न नेकपाले सम्पूर्णमा अपील गरेको छ।