
गोर्खा।गोरखा जिल्ला समन्वय समितिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मोहनबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । एकल उम्मेदवारी परेपछि माओवादी केन्द्रका प्रमुख, उपप्रमुखसहित नौ सदस्य निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिनुभयो ।
समन्वय समितिको उपप्रमुखमा लिला परियार निर्वाचित हुनुभएको छ । उहाँ सहिद लखन गाउँपालिका–९ बाट वडा सदस्यमा विजयी हुुनभएको थियो । प्रमुख थापा गोरखा नगरपालिका–९ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । समन्वय समितिको सदस्यमा मोहन ढकाल, मोहम्मद हकिम, शिवप्रसाद रेग्मी, इन्दिरा देवकोटा, प्रमिना घले, मीरा उपरकोटी र गङ्गाबहादुर वयलकोटी निर्विरोध चयन हुनुभएको छ । समन्वय समितिमा कूल २२ मतदाता थिए ।
जिल्लाका ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ पालिकामा प्रमुख र ६ पालिकामा उपप्रमुख जितेको थियो । कांग्रेसले दुई पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख जितेको थियो । प्रमुख, उपप्रमुखसहित सबै सदस्यले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।