
झापा।झापाको मेचीनगरमा रहेर उन्नत गाईपालन तथा कृषिमा आबद्ध ५ वटा कृषि फर्महरुले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेका छन। नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजना बिराटनगरकाे सहयोगमा उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभ स्टक सेन्टर इनोभेसन आयोजना विराटनगरले गतसाल व्यवसायीक पशुपालन तथा दूध उत्पादन उपआयोजना सञ्चालन गर्न इच्छुक व्यवसायीक फर्महरुबाट आशय पत्र माग गरेको थियोे । उक्त माग बमोजिम निवेदन दिएका मेचीनगरका ५ वटा कृषि फर्म छनौट भइ पुन उपआयोजनाका लागि पुर्ण प्रस्ताव माग भए बमोजिम पुर्ण प्रस्ताव पेश गरी अनुदान पाउन योग्य फर्महरु र विकेन्द्रिकृत आयोजना विराटनगर बीच अनुदान सम्झौता भएको थियोे ।सोही अनुरुप नगरका पाँचवटा कृषि फर्महरुले उक्त उपआयोजना सम्बन्धि जानकारी गराउने र उपआयोजनाकाे पारदर्शिता सम्बन्धि जानकारी गराउँदै सार्वजनिक सुनुवाइ सम्पन्न गरेका हुन् ।
छनौटमा मेचीनगर नगरपालिकाबाट मेची कृषि तथा पशुपालन प्रालि , बाहुणडाँगी कृषि तथा पशुपालन प्रालि , संजिव गाई तथा कृषि फर्म, प्रधान कृषि फर्म र अपेक्षा गाई फर्म पर्न सफल भएका थिए।
जसअनुसार वि.सं.२०७० सालदेखि सञ्चालनमा रहेको मेची कृषि तथा पशुपालन प्रालिले अनुदानको रुपमा २९ लाख ६५ हजार पाउने छ भने २०७१ सालदेखि सञ्चालनमा रहेको बाहुणडाँगी कृषि तथा पशुपालन प्रालिले ७३ लाख ४७ हजार १ सय १० , २०६९ सालदेखि सञ्चालन रहेको संजीव गाई तथा कृषि फर्मले २९ लाख २५ हजार, २०७६ सालदेखि सञ्चालनमा रहेको प्रधान कृषि फर्मले ३७ लाख ३३ हजार ५ सय र २०७० सालदेखि सञ्चालनमा रहेको अपेक्षा गाई फर्मले २९ लाख ९७ हजार ७०० रुपैयाँ अनुदान पाउनेछन् ।
छनौटमा परेका फर्महरुले सार्वजनिक सुनुवाइ कार्यक्रममा फर्मले सुरुवातदेखिनै पशुपालन क्षेत्रमा गरेका संघर्ष, विभिन्न चुनौती , गाई पालन सम्बन्धि समस्या , फर्मकाे उत्पादन , सञ्चालनकाे लागत, फाइदा , बेफाइदा , फर्म सञ्चालन पश्चात् स्थानीय स्तरमा रोजगारकाे सिर्जना लगायतका विषयहरु प्रतिवेदन मार्फत पेश गर्दै आगामी दिनको कार्ययोजना समेत प्रस्तुत गरेका थिए।
कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्षहरुकाे आतिथ्यता रहेकाे थियोे भने फर्म सञ्चालक समिति तथा उपभोक्ताहरुकाे समेत उपस्थिति रहेको थियोे ।