
प्रविण विद्रोही, २४ फागुन, झापा । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गत झापाको विर्तामोडमा जारी पाँचौ संस्करणको नेपाल आइस झापा गोल्डकपमा आज भएको खेलमा थ्री स्टार फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै संकटा क्लब सेमिफाइनल प्रवेश गरेको छ।
संकटाको जितका लागि विदेशी खेलाडी यानिकले खेलको २५ औँ मिनेटमा डिबक्सभित्रबाट प्रहार गर्दै पहिलो गोल गर्न सफल भएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा एक गोल गर्दै खेलमा २-० काे अग्रता बनायो । खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले गोल गर्दै टिमलाई २-० काे अग्रता दिलाएका थिए।
खेलमा थ्री स्टारले पाएका अवसर सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । खेलको दोस्रो मिनेटमा रितिक खड्काले डिबक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाए । खेलको ३६ औँ मिनेटमा संकटाका सुवास गुरुङको कर्नरमा यानिकले गरेको हेडर बार नजिकैबाट बाहिरियो । खेलो ४६ औँ मिनेटमा थ्री स्टारका रितिक खड्काले डिएरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे । खेलको ७० औँ मिनेटमा संकटाका उत्तम राईले गरेको प्रहार विपक्षी गोलरक्षक प्रिसोले बचाउ गरे । ७५ औँ मिनेटमा थ्री स्टारका सञ्जोक राईले गरेको हेडर विपक्षी गोलरक्षकले सहजै नियन्त्रणमा लिए ।
मंगलबारको खेलको प्लेयर अफ द म्याच संकटाका गोलरक्षक रोहित कार्की घोषित हुँदै उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए ।
बुधबारको क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीबीच दिउँसो २:३० बजे हुनेछ । फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार पाउनेछन्, भने उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइने आयोजकले बताएको छ। प्रतियोगितामा नेपालका ८ र भारतका दुई क्लबको सहभागिता रहेको छ ।