
परासी।पश्चिम नवलपरासीमा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले चार धर्मका गुरुहरूसँग संवाद तथा अन्तर्क्रिया कार्यक्रम भएको छ।
सुनवल सामुदायिक विकास केन्द्र, सुनवलको आयोजनामा परासीमा आयोजित कार्यक्रममा विभिन्न धर्मका अगुवाहरूले धार्मिक सहिष्णुता र आपसी सम्मान कायम गरे मात्र समाजमा सद्भाव मजबुत बन्ने धारणा राखे।
कार्यक्रममा इस्लामिक धर्मका गुरु सहीहद अहमदले रीतिरिवाज फरक-फरक भए पनि सबै एक भएर समाजका लागि काम गर्न सके सामाजिक सद्भाव कायम हुने बताए।
बौद्ध समाजका सचिव कुलबहादुर रानाले सबै धर्मलाई सम्मानपूर्वक स्वीकार गर्ने संस्कार विकास गर्न सके सद्भाव सुदृढ हुने उल्लेख गरे।
हिन्दु धर्मका गुरु नारायणकृष्ण पाण्डेले संवादकै माध्यमबाट सामाजिक सद्भाव कायम गर्न सकिने बताउँदै समाजमा देखिने घरेलु हिंसाले सद्भावमा खलल पुर्याइरहेकाले त्यसको सामूहिक रूपमा विरोध गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले धार्मिक सहिष्णुता बिना सामाजिक सद्भाव सम्भव नहुने बताए।
सहायक सिडियो भण्डारीले घरेलु हिंसा, लैंगिक विभेद तथा विभिन्न अपराधजन्य गतिविधिले समाजमा सद्भाव कमजोर बनाइरहेको उल्लेख गर्दै उनले नयाँ पुस्ताले पुराना पुस्ताबाट सामाजिक सहअस्तित्वका मूल्य सिक्नुपर्ने आवश्यकता औंल्याए।लैंगिक हिंसा र विभेद अपराध भएकाले समाजबाटै तिस्कार गर्नुपर्ने उनको भनाइ थियो।
सुनवल सामुदायिक विकास केन्द्रका अध्यक्ष जयराम बस्यालले घरेलु हिंसा न्यूनिकरण र सामाजिक सद्भाव कायम गर्न समाजस्तरबाटै पहल आवश्यक रहेको बताए।
घरेलु हिंसाकै कारण समाजमा द्वन्द्व र असहिष्णुता बढेकाले सबै पक्ष मिलेर समाधान खोज्नुपर्नेमा उनले जोड दिए।
पाल्हीनन्दन गाउँपालिकाको समन्वय तथा युनाइटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालित घरेलु हिंसा न्यूनिकरणका लागि सामुदायिक मेलमिलाप तथा संवाद परियोजना सन् २०२१ देखि पाल्हीनन्दनमा सञ्चालनमा रहेको परियोजना संयोजक कृष्ण पाण्डेले जानकारी दिए।











