
सुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी चार वर्षे रणनीतिक कार्ययोजना निर्माणका लागि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।सुनवल नगरपालिका-२ बर्तौलीस्थित होटल रेबर्नमा सम्पन्न गोष्ठीले सहकारीको कार्यनीति र रणनीति तय गरेको हो।
सहकारी प्राधिकरण ऐन अन्तर्गतका प्रावधानअनुसार संस्थालाई सबल, पारदर्शी र सदस्यमुखी बनाउन दीर्घकालीन कार्ययोजना, आर्थिक सुदृढीकरण, डिजिटल प्रणाली प्रवर्द्धन, सामाजिक उत्तरदायित्व र सदस्य सेवा सुधारका कार्यक्रम समावेश गरिएको अध्यक्ष डोलराज भण्डारीले जानकारी दिए।
उपाध्यक्ष देवकला खनालका अनुसार कार्ययोजना अन्तर्गत हाल १ करोड ५३ लाख रहेको सेयर पूँजीलाई ३ करोड ५८ लाखमा, बचत रकम ११ करोड २६ लाखलाई १८ करोडमा, ऋण लगानी ११ करोड २७ लाखलाई बढाएर १८ करोड ६० लाखमा पुर्याउने लक्ष्य राखिएको छ।
त्यस्तै हाल १४ करोड ९३ लाख रहेको कुल सम्पत्तिलाई बढाएर २४ करोडमा पुर्याउने र १ हजार ९ सय ४४ जना सेयर सदस्यलाई बढाएर ३ हजार ३३० जनामा पुर्याउने योजना समेत कार्ययोजनामा समेटिएको छ । कार्यशालामा बचत, कर्मचारी व्यवस्थापन, आर्थिक प्रशासन, ऋण व्यवस्थापन, सदस्यता लगायतका कार्यविधिको पुनरावलोकन गरिएको थियो ।
कार्यशालामा सहकारीका सल्लाहकार, सञ्चालक समिति तथा उपसमितिहरूको सक्रिय सहभागिता रहेको थियो।