
सुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चार वर्षे रणनीतिक कार्ययोजना निर्माणका लागि दुईदिने कार्यशाला गोष्ठी मंगलबारदेखि सुरु गरेको छ।
सुनवल नगरपालिका-२ बर्तौलीस्थित होटल रेबर्नमा सुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष डोलराज भण्डारीको अध्यक्षतामा भएको गोष्ठीको उद्घाटन सुनवल नगरपालिका उपप्रमुख सूर्यप्रसाद दुवेले गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख दुवेले वित्तीय पहुँचमा नपुगेका जनतालाई सहकारीमार्फत सबलीकरण गर्न सकिने उल्लेख गर्दै नियमअनुसार सही नेतृत्वले अघि बढे कुनै पनि संस्था असफल नहुने धारणा राखे। उनले सहकारीहरूले समाज र समयको आवश्यकतालाई मध्यनजर गर्दै सेयर सदस्यको प्राथमिकता, स्थानीय मौलिकता र जीवनस्तर उकास्ने खालको रणनीति बनाउनुपर्नेमा जोड दिए।
कार्यशालामा सहकारीका सल्लाहकार, सञ्चालक समिति तथा उपसमितिहरूको सहभागिता रहेको थियो।
कार्यशालामा सस्थामा रहेका बिध्यामान बचत कार्यविधि, कर्मचारी व्यवस्थापन कार्यविधि, आर्थिक प्रशासन कार्यविधि, ऋण व्यवस्थापन कार्यविधि, सदस्यता कार्यविधिसहित विभिन्न कार्यविधि पुनरावलोकन गरिने अध्यक्ष भण्डारीले बताए ।
सहकारी प्राधिकरण ऐन अन्तर्गत रहेका प्रावधानअनुसार सहकारी आगामी चार वर्षमा संस्थालाई सबल, पारदर्शी र सदस्यमुखी बनाउन दीर्घकालीन कार्ययोजना, आर्थिक सुदृढीकरण, डिजिटल प्रणाली प्रवर्द्धन,सामाजिक उत्तरदायित्व र सदस्य सेवा सुधारसम्बन्धी कार्यविधि पनि तयार गर्ने लक्ष्य लिएको अध्यक्ष भण्डारीले जानकारी दिए।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा अध्यक्ष डोलराज भण्डारी र उपाध्यक्ष देवकला खनालले सहजीकरण गरिरहेका छन् भने कार्यक्रम सञ्चालन संस्थाकी सचिव उमादेवी पंगेनीले गरेकी थिइन।