ट्रेन्डीङ्ग

सरावल गाउँपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउदै

परासी।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अतिक्रमित सार्वजनिक जग्गामा डोजर चलाएर विभिन्न स्थानका जग्गा खाली गराएको छ। पटक–पटक ताकेता गर्दा पनि अटेर भएपछि पालिकाले कठोर कदम चाल्दै विद्यालय तथा अन्य सार्वजनिक जग्गामा बनेका भौतिक संरचना हटाएको हो।

गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीका अनुसार अहिलेसम्म करिब आठ बिघा सार्वजनिक जग्गा खाली गरिसकिएको छ। वडा नम्बर ३ मा प्रशासनिक भवन निर्माणका लागि १९ कट्ठा जमिन खाली गराइएको छ भने वडा नम्बर ५ मा १५ शैय्याको अस्पताल निर्माणका लागि २ बिघा १२ कट्ठा र वडा नम्बर ७ मा विद्यालयको नाममा रहेको जमिनबाट जोतभोग हटाई खेल मैदान निर्माणको तयारी थालिएको जानकारी दिए।

अध्यक्ष चौधरीले सार्वजनिक जग्गा अतिक्रमणलाई पालिकाले कडाइका साथ नियन्त्रण गर्ने बताए। “अतिक्रमण भएका सबै स्थान खाली गरिन्छ, पालिका निर्मम भएर अघि बढ्छ,” उनेले भने।

त्यस्तै, पालिकाले खाली गराइएको जमिनमा विकास निर्माणका काम तीव्र रुपमा अघि बढाएको छ। खेलमैदान निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरी चरणबद्ध रुपमा काम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले जानकारी दिए।

मिश्राका अनुसार कब्जा गरिएका जमिनहरूलाई विकास निर्माण तथा अन्य आवश्यकताअनुसार प्रयोग गरिनेछ र सार्वजनिक सम्पत्तिको संरक्षणका लागि अभियान निरन्तर जारी रहनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal