ट्रेन्डीङ्ग

नवलपरासीमा आँखामा संक्रमण भएका बिरामी बढे

परासी । पश्चिम नवलपरासीमा आँखा पाक्ने भाइरल रोगको समस्या बढेको छ । जिल्लाको रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सुनवल क्षेत्रमा आँखामा संक्रमण भएका बिरामी बढेका छन ।

 

विनोद निता कण्डेल आँखा अस्पतालमा दैनिक १ सयभन्दा बढी बिरामी भाइरल रोगको समस्या लिएर उपचारका लागि आउने गरेको अस्पतालका व्यवस्थापक तुलसीप्रसाद पराजुलीले बताए । ‘हामीकहाँ उपचारका लागि १ सय ५० जनाको हाराहारीमा दैनिक बिरामी आउनेमा अहिले बढेर ३ सय नाघेको छ,’ उनले भने, ‘उपचारका लागि आउनेमध्ये ५० प्रतिशतभन्दा बढी बिरामी आँखा पाक्ने भाइरल समस्या लिएर आएका छन।’

 

भाइरसको संक्रमणबाट हुने यो रोगले मानिसलाई एक हप्तादेखि १५ दिनसम्म दुःख दिने गर्दछ । समस्या देखिएलगत्तै उपचारका लागि अस्पताल जान, चस्माको प्रयोग गर्न र आँखा राम्ररी सफा गर्न चिकित्सकले सुझाव दिएका छन ।

 

जिल्लाका अन्य स्थानीय तहले पनि औषधिको अभाव हुन नदिन तत्काल औषधि खरिद गर्ने निर्णय गरेका छन । रामग्राम नगरपालिकाले यसको उपचारका लागि आवश्यक औषधि वडा स्वास्थ्य चौकीबाटनै निःशुल्क प्रदान गर्ने र थप जटिलता भएमा नेत्ररोग विशेषज्ञलाई देखाउन प्रचारप्रसार तथा पूर्वतयारीको काम गरिएको नगर प्रमुख धनपति यादवले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?